• २९ माघ २०८१, मङ्गलबार

बाख्रा उपहार पाएपछि उत्साह

blog

वालिङ समाचारदाता

वालिङ, माघ २८ गते । स्याङ्जाको वालिङ नगरपालिका–२, तिलडाँडाकी मङ्गली दमाईं बाख्रा उपहार पाएपछि निक्कै उत्साहित हुनुहुन्छ । ज्यालादारी गरेर आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको उहाँको परिवारमा यो पटक खुसी छाएको छ । उहाँ भन्नुहुन्छ, “मजदुरी गरेको पैसा बचत हुन सकेन । त्यसैले आफैँले केही गर्न सोच बनाएकी छु । यो उपहार पाएको उन्नत जातको पाठीसँगै थप पाठी खरिद गर्ने योजना पनि बनाएकी छु ।”  

उहाँ मात्रै होइन, गाउँमा गठन भएको तिलडाँडा स्वावलम्बी महिला समूहमा आबद्ध ३० जना दलित महिला अब आफैँ स्वावलम्बी बन्ने योजनामा लागेका छन् । समूहकी अर्की सदस्य लिलु सार्कीले समूहमा गरिँदै आएको बचतबाट ऋण लिएर थप बाख्रा पाल्ने बताउनुभयो । 

तिलडाँडा समूहका दलित महिला सदस्यले नियमित बचत र आफूहरू भित्र नै यसको सस्तो दरको ब्याजमा लगाउने गरेको समूहकी अध्यक्ष उमाकुमारी दमाईंको भनाइ छ । मासिक एक सय रुपियाँ बचत गर्दै आएको भन्दै अध्यक्ष उमाकुमारीले सुरुमा बचत गर्न नमानेका महिला अहिले उत्साहित भएको बताउनुभयो । समूह गठन भएको छ महिनाको अवधिमा नै समूहका सदस्यमा आएको परिवर्तनले आफूखुसी भएको उहाँको भनाइ छ । 

समूहमा आबद्ध सदस्यलाई वालिङ नगरपालिकाले सञ्चालन गरिरहेको वालिङ कृषि विकास परियोजना अन्तर्गत बिउका रूपमा पाठापाठी वितरण गरिएको वडा नं. २ का वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । दलित महिलालाई उत्पादनमा जोड्दै बचत गर्ने योजनाका साथ उनीहरूलाई सक्रिय बनाइएको उहाँको भनाइ छ । 

तिलडाँडाको दलित बस्तीका अधिकांश पुरुष रोजगारीका लागि विदेश गएका छन् भने केहीले वालिङमा मजदुरी गर्ने गरेका छन् । पुरुषसँगै मजदुरी गर्दै आएका महिलालाई उत्पादनमा जोड्न बिउ बाख्रा दिएको वडा अध्यक्ष लम्सालको भनाइ छ । समूहका सदस्यलाई सुधारिएको खोर निर्माणमा अनुदान दिने योजना रहेको उहाँले बताउनुभयो । 

समूहमा नै परिचालन हुने गरी पहिलो चरणमा २२ जना महिला सदस्यलाई बिउ पाठी र दुई जना सदस्यलाई बिउ बोका दिइएको परियोजनाले जनाएको छ । वालिङ नगरपालिकाले हेफर प्रोजेक्टसँग सहकार्य गरेर नगरभित्रका महिलालाई उत्पादनमा जोड्ने प्रयास गरेको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । कार्यक्रममार्फत उपहार मोडलबाट सदस्यलाई एकआपसमा जोड्दै र उत्पादन बढाउँदै लगिने उहाँको भनाइ छ ।