• २८ माघ २०८१, सोमबार

पढ्दै कमाउँदै गर्न सिकाइरहेका छौँ

blog

पश्चिम मोरङको सुन्दरहरैँचा नगरपालिका जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर भएको नगरपालिका हो । साबिकका कोशीहरैँचा र सन्दरदुलारी नगरपालिकालाई समायोजन गरी निर्माण भएको यो नगरपालिकाले कृषि र पशुपालनसँगै औद्योगिक र व्यापारिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । जनसङ्ख्या, शिक्षा, औद्योगिक व्यापार र कृषि उत्पादनमा जिल्लाकै अग्रणी  मानिएको सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंसँग गोरखापत्र दैनिकका लागि उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानी :

यहाँ निर्वाचित भएर आउनुभएको अढाई वर्ष बितिसकेको छ । यो अवधिमा भएका कामलाई कसरी मूल्याङ्कन गर्दै हुनुहुन्छ ?

हामी निर्वाचित भएर आएको अढाई वर्ष पूरा भएको छ । यो अवधिमा हामीले १५.३९ किलोमिटर अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गरेका छौँ । थोरै काम गर्ने तर विगतमा भन्दा गुणस्तरीय काम गर्ने भनेर हामीले अस्फाल्ट प्रविधि अपनाएका हौँ । ठुला गाडीको चाप नहुने साना र भित्री सडकमा इन्टरलक प्रविधिको ब्लक १०.८५ किलोमिटरमा बिछ्याएका छौँ । ५७.८५५ किलोमिटर सडकमा स्तरीय ग्राभेल भएको छ । २४.५९ किमी सडक एजिङ गरिएको छ । २२ वटा कलभर्ट पुल निर्माण गरेका छौँ । १.१ किमी खोलामा तटबन्ध भएको छ । २१ वटा भवन निर्माण भएका छन् भने १४७ वटा सडकलाई पहिचान हुने गरी नम्बरिङ गरिएको छ ।

शिक्षातर्फ आधारभूत तहका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि थुप्रै काम भएको छ । बाल शिक्षामा आकर्षण थपिएको छ । अभिभावकले जबरजस्ती केटाकेटीलाई विद्यालयमा छिराउनेभन्दा पनि केटाकेटी स्वस्फूर्त विद्यालयप्रति आकर्षण हुने गरी बालउद्यान निर्माण भएको छ । २, ३, ५, ९ र ११ नं. वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । विद्यालयमा खानेपानी, शौचालय जस्ता आधारभूत आवश्यकता गर्न सकेका छौँ । सरकारी विद्यालयप्रति आकर्षण बढेको छ । 

सुन्दरहरैँचा नगरपालिकालाई समृद्ध नगर बनाउने मुख्य आधार के के हुन् ?

सुन्दरहरैँचा नगरलाई कृषि, पशुपालन, औद्योगिक उत्पादन र व्यापारबाट समृद्ध नगर बनाउन सकिन्छ । हामीले कृषि उत्पादन वृद्धि गर्न किसानसँग साझेदारीमा धेरै काम गरेका छौँ । दुलारी कृषि सहकारीमार्फत तोरी उत्पादन र प्रशोधनको कार्यक्रम सञ्चालन भइरहेको छ । जसले गर्दा किसान तेलहन बालीमा आकर्षित भएका छन् । पशुपालन गर्ने किसानको घर घरमा गएर पशुरोगविरुद्ध खोप सेवा दिएका छौँ । गोठ सुधार कार्यक्रम, दुधको बजारीकरणका लागि सहयोग गरिरहेका छौँ । चालु आर्थिक वर्षमा मौरी उत्पादक किसानको २५ प्रतिशत सहलगानी र नगरको ७५ प्रतिशत अनुदानमा २०७ घार मौरी वितरण गरेका छौँ । यो कार्यक्रमले किसानमा मौरीपालनप्रति आकर्षण मात्र बढेको छैन, आर्थिक उपार्जनमा पनि सहयोग पुगेको छ । यति हुँदाहुँदै पनि नगरलाई समृद्ध बनाउने आधार भने औद्योगिक उत्पादन र व्यापार नै हो । हामी अहिले भूउपयोग नीति निर्माण गरिरहेका छौँ । विज्ञहरूले नगरको ८० प्रतिशत भूभाग आवास क्षेत्रका लागि उपयुक्त भएको सिफारिस गरेका छन् । अझ शैक्षिक क्षेत्रको गहना पूर्वाञ्चल विश्वविद्यालय, सुकुना बहुमुखी क्याम्पस, आइटी कलेज हामीकहाँ छन् । यहाँ थुप्रै ठुला उद्योग पनि सञ्चालित छन् । मानिस बसाइँसराइ भएर आउने क्रम पनि उच्च छ । त्यसैले पनि अबका केही वर्षपछि हाम्रो नगर औद्योगिक तथा व्यापारबाट नै समृद्ध बन्न सक्छ ।  

नगरको आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो रहेको छ ?

गत वर्ष नगरको आन्तरिक आम्दानी १५ करोड रुपियाँ थियो । चालु आर्थिक वर्षमा २० करोड रुपियाँ पु¥याउने लक्ष्य राखेका छौँ । छ महिनाको उपलब्धि हेर्ने हो भने लक्ष्य पूरा हुने निश्चित छ । हाम्रो अर्जुनदृष्टि भनेको नगरको आन्तरिक आम्दानी बढाएर परनिर्भरता अन्त्य गर्नु हो । स्थानीय तहलाई आत्मनिर्भर बनाउनका लागि दहत्तर बहत्तर, खोलाजन्य खनिजको ठेक्का, एकीकृत सम्पत्ति कर, व्यापार व्यवसाय कर एवं नवीकरण शुल्क, घरबहाल कर, हाटबजार कर र विभिन्न प्रकार सेवा प्रवाहमा लाग्ने सिफारिस दस्तुर आम्दानीका मुख्य स्रोत हुन् । खोलाजन्य आम्दानीलाई व्यवस्थित गर्ने हो भने नगरको आन्तरिक स्रोतले पनि सानातिना विकासका काम गर्न सकिन्छ तर पनि आन्तरिक आम्दानीले नगरको खर्च धान्न सक्ने अवस्था छैन ।  

नगरमा सञ्चालन भएका ठुला आयोजना के के छन् ?

नगरको वडा नम्बर ७ मा विश्व बैङ्कको ५० करोड रुपियाँ आर्थिक सहायतामा पूर्वाञ्चल विश्वविद्यालय जाने सडक कालोपत्रे भइरहेको छ । भारतीय दूतावासको साढे चार करोड रुपियाँ सहयोगमा पञ्चायत माविको सुविधासम्पन्न शैक्षिक भवन निर्माणाधीन छ तर हामीले पालिकाको प्रमुख प्रशासनिक भवन निर्माण गर्न सकेका छैनौँ । २०७९ सालमा सलकपुरमा चार बिघा आठ कट्ठा जग्गा व्यवस्थापन गरी डिपिआरसमेत निर्माण गरिसकेका छौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ सालमा भवनको शिलान्यास गर्नुभयो । स्रोत सुनिश्चित नभएकाले भवन निर्माण गर्न सकेका छैनौँ । 

हामीले सङ्घीय सरकारले उपलब्ध गराउने साढे छ करोड र प्रदेश सरकारसँग १५ करोड रुपियाँ सुनिश्चित गर्न माग गरेका छौँ । नगरको वडा नं. १ मा सञ्चालित नगर अस्पताल जीर्ण भवनमा सञ्चालन भइरहेको छ । ७४ प्रकारका विभिन्न परीक्षण गर्न सक्ने ल्याबसहित एमडिजिपी सेवा दिइरहेको अस्पतालको सेवा देशभरका नगर अस्पतालमध्ये अब्बलभित्र पर्छ । हाल अस्पतालको आम्दानीले ७५ प्रतिशत खर्च धानिरहेको अवस्था छ । पूर्वाधार व्यवस्थापनका लागि बजेटको अभाव भइरहेको छ । सुन्दरहरैँचा नगरपालिका तीन वटा खोलाको कटानबाट पीडित छ । पूर्वको लोहोन्द्रा, बिचमा गछिया र पश्चिममा बुढीखोला छन् । यी खोलाले बर्सेनि करोडौँको क्षति गर्छन् । खोलामा स्थायी तटबन्धका लागि स्थानीय सरकारले केही गर्न सकेको छैन । पछिल्लो समय एक महिनाको अवधिमा हात्तीले तीन जनाको ज्यान लिएको छ । यो नयाँ समस्या बनेर आएको छ । हात्तीपीडितहरू नगरले केही गरेन भनेर गुनासो गरिरहन्छन् । स्थायी रूपमा गर्न सकिने उपाय हामीसँग छैन, नगरी पनि भएको छैन । जङ्गलसँग जोडिएका बस्तीका बासिन्दा जङ्गली हात्तीका कारण त्रासमा छन् । कम्तीमा सडकमा बत्तीसम्म लगाउन सके पनि हात्ती देखेपछि ज्यान बचाउन सकिन्छ कि भन्ने अवस्थामा हामी पुगेका छौँ । 

नगर विकासका प्रमुख चुनौती के के हुन् ?

 यस नगरपालिकामा थुप्रै चुनौती छन् । तीमध्ये सबैभन्दा ठुलो चुनौती मानव संसाधनको हो । नगरमा विश्वविद्यालय छ, ठुला क्याम्पस छन्, आइटी कलेज छ । त्यत्तिकै मात्रमा विद्यालय, बोर्डिङ स्कुल छन् । यति हुँदाहुँदै पनि अझै धेरै बालबालिका विद्यालय जाँदैनन् । उनीहरूलाई विद्यालय पठाउने र ड्रप आउट रोक्न अनेकन् उपाय लगाए पनि सफलता प्राप्त भएको छैन  । विगतमा भन्दा त केही सुधार भएको छ तर सन्तुष्ट हुने अवस्था अझै आएको छैन । विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था, शैक्षिक सामग्री प्रबन्धलगायत धेरै कार्यक्रम शिक्षा क्षेत्रमा ल्याएका छौँ ।

यस नगरपालिकाबाट देशका अरू स्थानीय तहले सिक्नुपर्ने केही छ ?

अवश्य छ । हामीले साजीलाल माध्यमिक विद्यालयमा कमाउँदै पढ्दै कार्यव्रmम सञ्चालन गरेका छौँ । अति विपन्न परिवारका विद्यार्थीलाई कक्षा १२ सम्मको अध्ययनका लागि यसले सहज बनाएको छ । पाँच लाख रुपियाँ बिउ पुँजी दिएर त्यही पुँजीबाट पढ्ने खर्च निकाल्न विद्यार्थीले श्रम गर्ने गर्छन् । विद्यालयको प्रशस्त जग्गा छ । जग्गामा मौसम अनुसार खेती लगाउने र खेतीको आम्दानीबाट पढ्ने खर्च जुटाउने गरिएको छ । अहिले विद्यार्थीले तोरी खेती गरेका छन् । आगामी वर्ष कुनै एउटा विद्यालयमा विद्यार्थीलाई प्राविधिक सिप सिक्ने व्यवस्था मिलाउने तयारीमा छौँ । पढ्न कमजोर तर सिप सिकेर गरिखान सक्ने विद्यार्थीलाई छनोट गरेर एसी, फ्रिज, मोेबाइल, टिभी जस्ता इलेक्ट्रोनिक्स सामान मर्मतसम्बन्धी तालिम सञ्चालनको तयारी गरिरहेका छौँ । नगरले महिला, दलित र अपाङ्गता भएका व्यक्तिलाई स्थायी प्रकृतिका करमा छुट दिएको छ । मौलिक पहिचानका वस्तु तथा सामग्री उत्पादन गर्ने व्यवसाय दर्ता गर्दा छुटको व्यवस्था छ । नगरले आफ्नै खर्चमा दुई सय टन क्षमताको शीतभण्डार स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

बसाइँसराइ रोक्न पनि कुनै उपाय अपनाउनुभएको छ कि ?

नगरमा २०७९ सालमा १२ हजार पाँच जना बसाइँ सरी आएका छन् भने तीन हजार ६१४ जना बसाइँ सरेर गएका छन् । गत वर्ष पनि हाम्रो नगरमा आउनेको सङ्ख्या जानेको भन्दा तीन गुणा बढी छ । नगरमा घना आवादी बढिरहँदा सोही अनुसारको पूर्वाधार, स्वास्थ्य, शिक्षा, सडक र खानेपानीको विस्तार गर्नुपर्ने हुन्छ । विपन्न परिवारका १५० परिवारका लागि सुरक्षित घर निर्माण गरेका छौँ । सीमित बजेटबाट अनन्त आवश्यकता पूरा गर्नुपर्ने हुँदा आमनागरिकको माग र अपेक्षा अनुसार काम गर्न असम्भव भएको हो तर पनि स्रोतले भ्याएसम्म र बाह्य स्रोत खोजेर पनि हामी काम गरिरहेका छौँ ।