काठमाडौँ, माघ २८ गते । हिमालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यसहित नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी तीव्र बनेको छ ।
आगामी वर्ष जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद काठमाडौँमा आयोजना गरिने गरी तयारी सुरु भएको हो । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको तयारी बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ, जसले संवादको समग्र व्यवस्थापनको मार्गदर्शनका लागि भूमिका खेल्ने छ ।
बैठकमा अन्तर्राष्ट्रिय सम्बन्धको मामिलामा परराष्ट्रमन्त्री डा. आरजु राणाले सघाउनुहुने गरी अर्को समिति बनाउने विषयमा पनि छलफल भएको छ । यस्तै कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवालय गठन गर्ने निर्णय भएको छ ।
सगरमाथा संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सचिवालय रहने र सोमबारदेखि नै तयारी कार्यक्रमलाई तीव्रता दिइने वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिनुभयो । संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ । निमन्त्रणा तयार पार्ने र पठाउने प्रक्रिया सोमबारदेखि नै सुरु हुने ढकालले बताउनुभयो ।
संवादको प्राविधिक पक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा हुने भएकाले मन्त्रालयले सोही अनुसार तयारी थालेको बैठकमा जानकारी गराइएको छ । आर्थिक तथा अन्य मामिलामा अर्थ मन्त्रालय तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडालगायतको विज्ञ समूहले सघाउने गरी समिति बन्ने छ । सगरमाथा संवाद कार्यक्रमलाई सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रचारप्रसार गराउने योजना बनाइएको छ, जस अनुसार कार्यक्रमबारे सरकारले आइतबारदेखि ‘सगरमाथा संवाद डटकम’ वेबसाइट सञ्चालनमा ल्याएको छ । यसमार्फत आवश्यक पूर्वतयारीका काम गरिने छ ।
मुख्य कार्यक्रमको तयारीलाई भव्य तुल्याउन समावेशी प्रतिनिधित्व हुने गरी महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, जनजाति, सीमान्तकृत क्षेत्र र वर्गको सहभागितामा पूर्वकार्यक्रम (प्रि–इभेन्ट) आयोजना गर्ने प्रस्ताव बैठकमा गरिएको ढकालले जानकारी दिनुभयो ।
संवादका अवसरमा नेपालको पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्रको सहकार्यमा ‘साइडलाइन इभेन्ट’ हरू तथा प्रदर्शनी गर्ने पनि तय भएको छ । यो अन्तर्राष्ट्रिय संवाद कार्यक्रमले समाजका सबै पक्ष र तिनै तहका सरकारलाई जोड्ने लक्ष्य लिएको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।
यही जनवरी २१ मा अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गर्नुभएको थियो । नेपाल सरकारले सफा पानीको स्रोतको रूपमा रहेको नेपालका हिमाल संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यसहित विश्वमै पहिलो पटक यो संवादको आयोजना गर्न लागेको हो, जस अनुसार जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्ने गरी खाका बनेको छ ।