• २८ माघ २०८१, सोमबार

अवैध सुन र एक लाख बढी नगदसहित एक पक्राउ

blog

अवैध सुनसहित पक्राउ परेको अभियुक्त ।

लीलाधर वली

घोराही, माघ २७ गते । दाङमा प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उपमहानगरपालिका –१५ ट्राफिक चोकबाट घोराही उपमहानगरपालिका –१४ मिलनचोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई अवैध सुन र नगदसहित पक्राउ गरेको हो ।

पक्राउ परेका रसाइलीको साथबाट प्रहरीले ४९७.०४ ग्राम तौल सुनसहित नगद एक लाख ७ हजार ८ सय रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक शाहका अनुसार रसाइलीले प्रयोग गरेको लु ४६ प ६१६१ नम्बरको सुजिकी कम्पनीको मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

अवैध रूपमा सुन कारोबार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले माघको २५ गते साँझ घोराहीस्थित ट्राफिक चोकबाट पक्राउ गरेको थियो । 

सादा पोशाकमा खटिएको प्रहरी टोलीले लु ४६ प ६१६१ नम्बरको सुजिकी कम्पनीको मोटरसाइकलमा सवार हिडिरहेको अवस्थामा पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभयो ।