पहलमान घर्ती
रोल्पा, माघ २५ गते । रोल्पाको लिवाङमा दोस्रो औद्योगिक, घरेलु, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पा र महिला उद्यमी समिति रोल्पाको संयुक्त आयोजनामा आगामी फागुन २० देखि २९ गतेसम्म सो महोत्सव हुने शुक्रबार पत्रकार सम्मलेनमार्फत बताइएको हो ।
महोत्सवमा स्थानीय कच्चा पदार्थबाट उत्पादन गरिएका वस्तुहरुको प्रदर्शनी तथा दिगो बजार व्यवस्थापन गर्ने उद्देश्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाका अध्यक्ष मिलन डाँगीले बताउनुभयो । महोत्सवमा स्थानीय उत्पादनसँगै, हस्तकला, उर्जा, बायोग्यास, औद्योगिक तथा व्यपारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने जनाइएको छ ।
जिल्लाको मौलिक कला संस्कृति, कृषि उत्पादन तथा प्रविधि, पर्यटकीय स्थल, हस्तकला सामग्री, औद्योगिक तथा व्यपारिक प्रतिष्ठानहरुबाट उत्पादित वस्तु लगायतका सामग्रीको प्रदर्शनीमा रहने अध्यक्ष डाँगीले बताउनुभयो ।
विशेष गरी जिल्लाको मौलिक कला सस्कृती, सभ्यता र प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य राखिएको छ । एक लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ ।