• २० वैशाख २०८१, बिहिबार

‘रङ्गमञ्चमा अझै गुणस्तरको कमी छ’

blog

सुकृत नेपाल

काठमाडौँ, जेठ १४  गते । नेपाली रङ्गमञ्चमा व्यस्त रङ्गकर्मीका रूपमा चिनिनुहुन्छ रङ्गकर्मी भोलाराज सापकोटा । उहाँले केही वर्षअघि बलिउड कलाकार रणवीर कपुर र प्रियङ्का चोपडा अभिनित चलचित्र ‘बर्फी’ मा पनि अभिनय गर्नुभएको थियो । सापकोटाले अग्निको कथा, मायादेवीको सपना, जात सोध्नु जोगीको लगायत एक दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसक्नुभएको छ ।साथै कुम्भकरन, पण्डित बाजेको लौरी, झुम्की, कागजपत्रलगायतका थुप्रै चलचित्रमा पनि उहाँले अभिनय गर्नुभएको छ । उहाँ अभिनित चलचित्र ‘कौशिद’ र ‘दोशान’ प्रदर्शनको तयारीमा छ । रङ्गमञ्च र चलचित्रको बारेमा केन्द्रित भएर उहाँसँग गरिएको कुराकानी :

हिजोआज के हुँदैछ ? 

अहिले तत्काल रङ्गमञ्चका कक्षाहरू सञ्चालन भइरहेका छन् । विज्ञापनमा काम गरिहेको छु । चलचित्रमा पनि कुरा भइरहेको छ, सायद चाँडै नै केही चलचित्रमा व्यस्त हुन्छु । 

तपाईंको प्रदर्शनमा आउन लागेको चलचित्र कुन–कुन हो ? 

मेरो प्रदर्शनमा आउने भनेको दुईवटा चलचित्र छन् । ‘कौशिद’ र ‘देशान’ । यी चलचित्र कहिले प्रदर्शन हुन्छन् भन्ने मिति भने तय भएको छैन । 

कस्ता चलचित्र हुन् ‘कौशिद’ र ‘देशान’ ? 

‘कौशिद’ पारिवारिक, सामाजिक कथावस्तु बोकेको चलचित्र हो । एउटा प्रधानाध्यापक यात्रामा बनेको चलचित्र हो । यसमा मेरो भूमिका एउटा शिक्षकको रहेको छ । अर्को ‘देशान’ भन्ने चलचित्र हो । ‘देशान’ लाई मगर भाषामा रुढी भनिन्छ । देशान पनि सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । यसमा दुई प्रमुख कलाकार हुन्छन् जसमध्ये एउटा प्रमुख भूमिकामा म देखिएको छु । 

तपाईं त रङ्गकर्मी हुनुहुन्छ, के अब चलचित्रमा मात्र अभिनय गर्ने हो ? 

होइन, नाटक पनि गर्ने । म रङ्गमञ्चबाट हराएको छैन । मेरो अन्तिम नाटक गत पुस महिनामा मञ्चन भएको थियो । अहिले मैले नाटकमा अभिनय नगरे पनि रङ्गमञ्चमा के कस्ता गतिविधि भइरहेका छन् भनेर जानकारी लिइरहेको हुन्छु । 

तपाईंले अभिनय गरेको नाटक दर्शकले अब कहिले हेर्न पाउनुहुन्छ ? 

म अहिले एउटा समूहसँग नाटकको काम गरिरहेको छु । नाटकको रिहर्सल चलिरहेछ । यो असारभित्र त्यो नाटकको मञ्चन सुरु हुन्छ होला । 

अहिले रङ्गमञ्चको अवस्था कस्तो देख्नुहुन्छ ? 

रङ्गमञ्चको अवस्था राम्रो छ भन्नुपर्छ । धेरै रङ्गसंस्थाहरू आएका छन् । त्यसमा सबैले काम पाइरहेका छन् । नाटकमा दर्शकको भीड लागिरहेको छ तर पनि नाटकको गुणस्तर अलि खस्किएको हो कि जस्तो लाग्छ । पहिलाकै स्तरको जस्ता नाटकहरू अझ पनि बन्न सकेका छैनन् । रंगमञ्चमा हाम्रो मेहिनत अलि नपुगेको हो कि ?

तपाईंबाहेक केही रङ्गकर्मी मिलेर गुरुकुल दर्ता गर्नुभयो भन्ने हल्ला छ नि ?

हो, संस्थागत रूपमा गुरुकुल दर्ता भएको हो । अब कहिले बन्छ के हुन्छ त्यसको भने टुङ्गो लागेको छैन । 

रङ्गमञ्च जस्तै अहिले चलचित्रको अवस्था कस्तो देख्नुहुन्छ ? 

दुई तीन वर्षअघि कोरोना महामारीले गर्दा चलचित्र क्षेत्रमा धेरै नै असर परेको थियो । अहिले पनि सोचेजस्तो भएको छैन र चलचित्र बनेका पनि छैनन् । अब बिस्तारै राम्रो हुँदै जान्छ भन्ने आशा गरौँ । 

‘बर्फी’ पछि बलिउड चलचित्रमा अफर आएको छैन ? 

बीचमा एउटा चलचित्रका लागि अफर आएको थियो तर त्यो बनेन र अहिले खासै अफर आएको छैन । 

प्रायः चलचित्रमा सहायक कलाकारका रूपमा मात्र देखिनुहुन्छ, मुख्य भूमिकामा नअटाउनुको कारण के हो ? 

अब यसको जवाफ मैले कसरी भन्न सक्छु । मैले आफैँले आफैँलाई मुख्य भूमिकामा लिइदिनुहोस् भनेर भन्न पनि मिलेन । म मुख्य पात्रमा फिट नहुन सकेर हो कि ? यसको कारण मेरो उचाइ पनि हुनसक्छ । यसमा जे जस्तो भए पनि म राम्रो काम गर्दै जान्छु र सधैँ सकारात्मक सोच बनाएर काम गर्छु ।