• २४ माघ २०८१, बिहिबार

विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अपुग : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजले आयोजना गरेको विज्ञान प्रदर्शनीको उद्घाटनमा बोल्नुहुँदै । तस्बिर :सूर्यप्रसाद पाण्डे

काठमाडौं, माघ २४ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजले आयोजना गरेको विज्ञान प्रदर्शनीको उद्घाटन गर्नुहुँदै सिंहले विज्ञान र प्रविधिको विकास बिना मुलुकले प्रगति गर्न नसक्ने पनि बताउनुभयो ।

पछिल्लो समय विशेष गरेर विज्ञान र प्रविधिको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले ठुलो परिवर्तन ल्याएको बताउँदै सिंहले भन्नुभयो, “अहिले त विज्ञानबाहेक के पढ्ने ? विज्ञानको विकास बिना के विकास होला र भन्नेजस्तो समय आइसकेको छ । तसर्थ अब हामी सबैको ध्यान त्यतैतर्फ जानुपर्छ ।”

सरकारले अब शिक्षा निति बनाउँदा यस विषयलाई प्राथमिकता दिनुपर्ने सिंहको भनाइ थियो । युवा पुस्ता र विशेष गरी विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्त्व जगाउन यस्ता कार्यक्रम फलदायी भएको बताउनुभयो ।

राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अहिलेको अवस्थामा शैक्षिक संस्थाहरूले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई गुन लगाएको सिंहले बताउनुभयो । विद्यार्थीले सैद्धान्तिक रूपमा जानेको ज्ञान र सिपलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउन यस्ता प्रदर्शनीले मद्दत पुर्‍याउने बताउनुहुँदै सिंहले भन्नुभयो, ‘‘नेपालजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरोकारवालालाई प्रेरणा मिल्नेछ ।’’

विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो । कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्था भएको भन्दै प्रशंसा गर्नुभयो । 

नीजि शैक्षिक संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले पूर्ण रूपमा उपलब्ध गराइरहेको जानकारी गराउँदै नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘‘आर्थिक विपन्न र जेहेन्दार विद्यार्थीलाई पढाउने सन्दर्भमा साउथवेस्टर्न कहिले पनि नाइ भनेको छैन । यस हिसावले पनि साउथवेस्टर्न धन्यवादको पात्र बनेको छ ।’’

कार्यक्रममा कलेजका अध्यक्ष इन्जिनियर वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास बिना कुनै पनि अविष्कार गर्न नसकिने बताउनुहुँदै साउथवेस्टर्न कलेजले स्थापना कालदेखि नै विज्ञान र प्रविधिलाई जोड दिँदै आएको जानकारी दिनुभयो ।

कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सोलार अवलोकन, साङ्गीतिक कार्यक्रम लगायतका प्रस्तुती रहने छ । प्रदर्शनीबाट विज्ञान र प्रविधिको क्षेत्रमा लाग्न युवा प्रतिभालाई हौसला मिल्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा नीजि तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीको तर्फबाट ६० वटाभन्दा बढी स्टलहरू राखिएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीलाई विभिन्न चरणको प्रतियोगितामा सहभागी गराएर नगद, शिल्ड तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ । शुक्रबारसम्म चल्ने प्रदर्शनीमा २५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

२०६७ सालमा स्थापना भएको यस कलेज हाल साउथवेस्टर्न समुहअन्तर्गत सञ्चालित छ । यस समूहअन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेन्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एन्ड पिएचडी स्टडिज, साउथवेस्टर्न बिज्नेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टर लगायतका शैक्षिक संस्थाहरू सञ्चालनमा छ । यी संस्थामार्फत हाल प्ले ग्रुपदेखि पिएचडीसम्मको अध्ययन भइरहेको छ ।

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।