• ३ जेठ २०८१, बिहिबार

सेनाद्वारा मानव अस्थिपञ्जरसहित फोहोर सङ्कलन

blog

गाईघाट, जेठ १४ गते । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान–२०२२ अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथालगायत पूर्वी नेपालका विभिन्न हिमालमा वर्षौंदेखि छरिएर रहेको फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरेको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका सेनानी विदुरध्वज अधिकारीका अनुसार जैविक विविधिता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा सञ्चालित सो अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालबाट पाँच हजार २६६ किलोग्राम सड्ने र २५ हजार ७८ किलोग्राम नसड्ने गरी जम्मा ३० हजार ३४४ किलोग्राम फोहोर सङ्कलन गरेको हो ।

यसबाहेक कञ्चनजङ्घा र मनास्लु हिमालबाट थप चार हजार ३४० किलोग्राम कुहिने फोहोर सङ्कलन गरी त्यसको उचित व्यवस्थापनका लागि प्रहरी र स्थानीयवासीको रोहवरमा ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ र आर्चे गाउँपालिकालाई बुधबार अपरान्ह हस्तान्तरण गरिएको पनि उहाँले बताउनुभयो । 

सेनानी अधिकारीका अनुसार सफा हिमाल अभियानकै क्रममा पहिचान खुल्न नसकिएका दुईवटा मानव अस्थिपञ्जरसमेत फेला पारी आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बुझाइएको छ ।

२०७८ साल चैत २२ गतेबाट सञ्चालित सफा हिमाल अभियानका क्रममा गत वैशाख २९ गते सहसेनानी गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले विश्वको सर्वाेच्च शिखर (८८४८.८६ मिटर अग्लो) सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ । यसैगरी सहसेनानी जितेन्द्र कार्की तथा सिपाही खिमलाल कार्की र कविराम घर्तीले पनि वैशाख २९ गते नै ८५१६ मिटर अग्लो ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको सेनानी अधिकारीले बताउनुभयो ।