• २४ माघ २०८१, बिहिबार

निरन्तर घट्दै भारतीय पर्यटक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २४ गते । नेपाल भित्रिने भारतीय पर्यटकको सङ्ख्या घट्दै गएको छ । नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने गरेका थिए तर सन् २०२४ को अगस्तयता नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या घट्दै गएको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो महिनामा मात्रै नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या १५ प्रतिशतले घटेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “गत असार र भदौमा चितवनको सिमलताल र तनहुँको आँबुखैरेनीमा भएका सडक दुर्घटनापछि भारतीय पर्यटकको सङ्ख्या घट्दै गएको देखिन्छ । त्यसपछि असोजमा आएको बाढीपहिरो, कात्तिकदेखि सुरु भएको महँगो हवाई भाडा र उडान कटौतीको असरले अहिले पनि भारतीय पर्यटकको आगमनमा असर देखिएको छ ।” सन् २०२४ को अगस्तमा ३.१ प्रतिशतले घटेका भारतीय पर्यटकको सङ्ख्या सन् २०२५ को जनवरीसम्म जारी रहेको उहाँको भनाइ छ । 

उहाँका अनुसार सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमण गरेका छन् । त्यसअघि सन् २०२३ मा चार लाख १६ हजार ८४५ पर्यटक घुम्न आएका थिए । 

सन् २०२३ को तुलनामा सन् २०२४ मा विदेशी पर्यटकको आगमन १३.१ प्रतिशतले बढे पनि सन् २०२४ को समग्र तथ्याङ्क अनुसार भारतीय पर्यटक भने २७.६९ प्रतिशले घटेका हुन् । सन् २०२३ भरमा तीन लाख १९ हजार ९३६ भारतीय पर्यटक नेपाल भित्रिएकामा सन् २०२४ भरमा तीन लाख १७ हजार ७२७ भारतीय पर्यटक नेपाल आएका छन् । तथ्याङ्क अनुसार सन् २०२४ को सेप्टेम्बरमा १९.९, अक्टोबरमा ११.७, नोभेम्बरमा १८.५ र सन् २०२५ को जनवरीमा १५ प्रतिशले भारतीय पर्यटक घटेका छन् । पछिल्लो समय नेपाल आउने पर्यटक सार्क मुलुकबाट समेत ४.३ प्रतिशतले घटेको बोर्डले जनाएको छ ।