• १३ साउन २०८१, आइतबार

सगरमाथा अन्तर्राष्ट्रिय कराँते सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १४ गते ।  नेपालका सुमन भोलनले आठौँ सगरमाथाअन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम श्रेष्ठलाई पराजित गर्नुभयो । भारतका हरिराम र चैतन्य शर्माले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।

यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रतियोगिताको पहिलो संस्करण पनि आफैँले उद्घाटन गरेको स्मरण गर्नुभएको थियो । उहाँले खेल क्षेत्र मानवीय, सामाजिक र राजनीतिक जीवनमा अत्यन्तै महत्त्वपूर्ण क्षेत्र भएको भन्दै जुनसुकै राष्ट्रको विकासको मापन गर्ने मापदण्ड खेलकुद भएको बताउनुभयो ।

राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले उद्घाटन समारोहमा ३६५ दिन नै राष्ट्रिय टिम तयारी सञ्चालन गर्ने योजना परिषद्ले बनाएको बताउँदै कराँते खेलले राष्ट्रको नामलाई उच्च राख्दै आएको धारणा राख्नुभयो । उहाँले १७औँ एसियाली खेलकुदमा कराँतेबाट विमला तामाङले राखेको इतिहासलाई कराँतेले पुनः कायम गर्ने गरी सम्बन्धित निकायले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सितोरियो कराँते सङ्घ, साखाडोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र भुटान गरी चार राष्ट्रको सहभागिता रहेको आयोजक डोजोका प्रमुख गजेन्द्रबहादुर खपाङ्गीले जनाउनुभएको छ । विभिन्न २७ स्पर्धामा एक हजार खेलाडी सहभागी भएको बताइएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।