बोमलाल गिरी
नवलपुर, माघ २२ गते। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट १० वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर (चितवन) लगिएको छ।
गत वर्षको चैतमा ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो भने शनिबारदेखि दैनिक एउटा गरेर चारवटा गैँडा स्थानान्तरण गरिएको हो। योसँगै चितवन राष्ट्रिय निकुञ्जले सुरु गरेको गैँडाको आन्तरिक स्थानान्तरण सकिएको छ।
निकुञ्ज पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र १६ वर्षका दुईवटा पोथी, नमुना मध्यवर्ती सामुदायिक वनबाट १८ वर्षको भाले र १४ वर्षको पोथीलाई स्थानान्तरण गरेर निकुञ्जको पूर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा पठाइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जाकारी दिनुभयो।
सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो।
वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिएपछि २०८० को चैत महिना पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो।
जोखिमका हिसाबले पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने निकुञ्जमा संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो।
आनुवांशिक विविधता मिलाउनका लागि पनि यो गैँडा स्थानान्तरणले महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बताउनुभयो। “एक ठाउँको गैँडालाई अर्को ठाउँमा लगेर क्रस गराएर आनुवांशिक विविधता मिलाउन आन्तरिक स्थानान्तरणले महत्त्वपूर्ण भूमिका खेल्छ’, आचार्यले भन्नुभयो।
यसरी स्थानान्तरण गरेर नयाँ ठाउँमा लगिएका गैँडा र त्यहाँका गैँडाको प्रजनन भएर जन्मिएका गैँडामा रोग प्रतिरोध क्षमता पनि बढी रहने आचार्यको भनाइ छ।



 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                