• ८ वैशाख २०८१, शनिबार

कञ्चनजङ्घाबाट १५ हजार किलो फोहोर सङ्कलन

blog

फक्ताङ्लुङ गाउँपालिकालाई कञ्चनजङ्घाको फोहोर व्यवस्थापन गर्न बुझाइँदै । तस्विरः

ताप्लेजुङ, जेठ १४ गते । नेपाली सेनाले सफा हिमाल अभियानअन्र्तगत विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको आधारशिविर क्षेत्रबाट १५ हजार किलो फोहोर सङ्कलन गरेको छ । 

बैशाख २४ गतेदेखि सफाई अभियान सञ्चलान गरेर उक्त परिमाणमा फोहोरमैला वस्तु सङ्कलन गरेको नेपाली सेनाले जनाइएको छ । सङ्कलित फोहोरमध्ये सड्ने र कुहिने खालको तीन हजार १७ किलोग्राम फोहोरवस्तु व्यवस्थापनका लागि फक्ताङलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । 

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूसमेतको उपस्थितिमा सफा हिमाल अभियान टोलीले फोहोर हस्तान्तरण गरेको छ । टोलीका संयोजक एवम् नेपाली सेनाका सेनानी समीरबहादुर बस्नेतका अनुसार स्थानीय स्तरमा व्यवस्थापन गर्न नमिल्ने अर्थात नसड्ने र नकुहिने खालका १२ हजार ३५६ किलोग्राम फोहोर भने काठमाडौं पठाइएको छ । 

यस्तै फोहोर सङ्कलनका क्रममा कञ्चनजङ्घा क्षेत्रबाट दुईवटा मानव कङ्काल पनि फेला परेको सेनानी बस्नेतले जानकारी दिनुभयो । उक्त मानव कङ्काल भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई बुझाइने जनाएको छ । 

नेपाली सेनाले ‘सफा हिमाल अभियान–२०२२’ अन्तर्गत कञ्चनजङ्घासहित चारवटा हिमालबाट ३० हजार ३४४ किलोग्राम फोहोर सङ्कलन गरेको जनाइएको छ । सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, र मनास्लु हिमालबाट उक्त परिमाणमा फोहोर सङ्कलन गरेको हो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।