• २५ माघ २०८१, शुक्रबार

डडेलधुरा मेडिकल कलेजमा थप दुई विषयको पढाइ सुरु

blog

बिपिएच र बिएस्सी नर्सिङका नयाँ विद्यार्थीलाई स्वागतसहित पढाइ सुरुबारे डडेलधुरा अस्पतालमा दिइएको जानकारी कार्यक्रम ।

अमरगढी समाचारदाता

डडेलधुरा, माघ २२ गते ।  डडेलधुरा मेडिकल कलेजमा आइतबारदेखि थप दुई सङ्कायको पढाइ सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको मेडिकल कलेजमा बिपिएच (ब्याचलर इन पब्लिक हेल्थ) र बिएस्सी नर्सिङ (ब्याचलर अफ साइन्स इन नर्सिङ) सङ्कायको पढाइ सुरु गरिएको हो । 

यी दुई विषय सञ्चालनको अनुमति पाएपछि मेडिकल कलेजले पठनपाठन सुरु गरेको हो । यसअघि गत वर्षदेखि कलेजले बिएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) को पठनपाठन सुरु गरेको थियो । मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीका अनुसार कलेजले बिपिएचमा १० र बिएस्सी नर्सिङमा २० जनाको कोटा पाएको थियो तर अहिलेसम्म बिपिएचमा पाँच र बिएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन् । 

१० जनाको कोटा रहेको बिएस्सी एमएलटीमा छ जना भर्ना भएको उहाँले बताउनुभयो । गत वर्ष भने आठ जना भर्ना भएका थिए । मेडिकल कलेजका सहप्राध्यापक धर्मराज भट्टले दुई वर्षको अवधिमा तीन वटा कार्यक्रम पाउनु डडेलधुरा मेडिकल कलेजका लागि खुसीको क्षण भएको बताउनुभयो ।

उहाँले सबैको महत्वपूर्ण भूमिकाले उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सफलता यात्राको पहिलो खुड्किलो हो । अन्त्य होइन । अझै थप कार्यक्रम आउने छन् । अस्पतालको स्तरोन्नति हुँदै गयो भने एमबिबिएसको पढाइ पनि सुरु हुन्छ ।” डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक पहलमा मेडिकल कलेजले सफलता पाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्यार्थीलाई गर्नुपर्ने सहयोगका लागि अस्पताल सधैँ तयार छ । अस्पतालको अझै स्तरोन्नति गर्दै छौँ । तीन सय शय्याको अस्पताल बन्यो भने एमबिबिएस पढाइ हुने मेडिकल कलेज पाउने छौँ ।” सरकारले डडेलधुरा अस्पताललाई २०७८ माघ १० गते मेडिकल कलेजका रूपमा विस्तार गर्ने निर्णय गरेको थियो । एमबिबिएसको पढाइ सुरु गर्न भने डडेलधुरा अस्पताल कम्तीमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा सञ्चालन हुँदै आएको छ ।