कुनैबेला नेपाल जस्तै भारत पनि विभिन्न राज्यमा टुक्रिएको थियो । पछि मात्र विभिन्न राज्यलाई जोड्दै सिङ्गो भारत बनेको हो । भारतको एउटा राज्यका राजा समरसिंह रावल थिए । उनका छोरा रामसिंह आफ्ना सौतेनी भाइहरूसँगको झगडाका कारण राज्य त्याग गरी नेपाल आए । उनका साथमा भाइ गणेशसिंह र अजितसिंह पनि थिए । उनीहरू सुरुमा जुम्लामा बसोबास गरे । जुम्ली राजा र सतहकोटका राजाका बिच लडाइ भयो । रामसिंहका छोराले निकै बहादुरीका साथ युद्ध गरे । उनको बहादुरीबाट खुसी भएर जुम्ली राजाले कुँवर उपाधिबाट सम्मानित गरे । त्यसपछि उनीहरूले कुँवर लेख्न थाले ।
रामसिंहका सन्तान क्रमशः कास्की हुँदै काठमाडौँ भित्रिए । रतनजितसिंह कुँवर, अहिराम कुँवर, रामकृष्ण कुँवर, जयकृष्ण कुँवर, अमरसिंह कुँवर, वीरभद्र कुँवर, बलभद्र कुँवर, बालनरसिंह कुँवर सबै पुस्ता नेपालका त्यस बेलाका टुक्रे राज्यका राजाका युद्धमा सम्मिलित भएका थिए । बालनरसिंहका छोरा वीरनरसिंह कुँवर थिए । उनी सानोमा हुँदा निकै जङ्गी स्वभावका भएकाले मामा माथवरसिंहले उनको नाम जङ्गे भनी राखिदिए । तिनै जङ्गे पछि जङ्गबहादुर कुँवर भए ।
जङ्गबहादुर नेपालका पहिलो राणा प्रधानमन्त्री हुन् । १९०५ सालमा त्यसबेलाका राजा सुरेन्द्रविक्रम शाहले वंशावली अनुसार जङ्गबहादुरले राणा लेख्न पाउने लालमोहर गरिदिए । राजाले जारी गरेको आदेश वा निर्णय लेखिएको कागजमा रातो छाप लगाइन्थ्यो जसलाई लालमोहर भनिन्थ्यो । त्यसपछि जङ्गबहादुरले राणा लेख्न थाले । उनका भाइहरू तथा सन्तानले पनि राणा लेख्न थाले । यो क्रम अहिले पनि कायम छ । जङ्गबहादुरका भाइभारदार वा सन्तानका हालसम्मका पुस्ताले आफ्नो नामको पछाडि राणा वा जङ्गबहादुर राणा वा जबरा लेख्दै आएका छन् । नामको पछाडि शमशेर जबरा लेखिएको छ भने ती जङ्गबहादुरका भाइ धीरशमशेरका सन्तान हुन् भन्ने थाहा हुन्छ ।
जङ्गबहादुरले पछि राजासँग लालमोहर गराई कास्की र लमजुङका राजा पनि बने । त्यसैले उनले नामको अगाडि श्री ३ महाराज लेख्ने चलन पनि चलाए । उनले महाराज र प्रधानमन्त्रीको पद सन्तान दर सन्तानमा जाने व्यवस्था मिलाएर राजासँग लालमोहर पनि गराउन सफल भए । उनले उत्तराधिकारीको सूची (फेहरिस्त) सार्वजनिक गरे । अर्थात् आफूपछि कोको पालैपालो श्री ३ महाराज र प्रधानमन्त्री बन्ने भनेर सूची तयार गरिएको थियो ।
विसं १९२४ मार्ग सुदी १० का दिन राणाजीका रोल क्रम सार्वजनिक गरे । त्यसमा एक नम्बरमा आफूलाई नै राखे । दोस्रोमा ठाँहिला भाइ प्रधान सेनापति रणोद्दीपसिंह कुँवर राणालाई राखे । प्रधानमन्त्रीको मृत्यु भएमा वा छोडेमा जो प्रधान सेनापति हुन्छ उनै श्री ३ महाराज र प्रधानमन्त्री हुने नियम बनाइयो । तसर्थ जङ्गबहादुरको निधनपछि रणोद्दीपसिंह नै प्रधानमन्त्री बने ।
जङ्गबहादुरले भाइ जगतशमशेरलाई तेस्रो स्थानमा, भाइ धीरशमशेरलाई चौथो स्थानमा, छोरा जगतजङ्गलाई पाँचौँ स्थानमा राखे । आफ्नातर्फबाट पछि जन्मिन सक्ने छोराहरूका लागि पनि
रोलक्रममा स्थान सुरक्षित गरे । आठौँ स्थानमा अब जन्मिने उनका छोराहरू रहने व्यवस्था थियो । यस्तो रोलक्रम हरेक राणा प्रधानमन्त्रीले तयार गर्ने गरेका थिए । पछि पछि त रोल क्रममा पर्न र हटाउन निकै ठुलो राजनीति हुन थाल्यो । बिहे गरेर ल्याइएका श्रीमती र भगाएर ल्याइएका श्रीमतीतर्फका सन्तानलाई राख्ने र हटाउने दाउपेच हुन्थ्यो ।
– प्रकृति