बुटवल समाचारदाता
बुटवल, माघ २१ गते । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घको १२ औँ अधिवेशनबाट उपेन्द्र अग्रवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । त्यसै गरी उपाध्यक्षमा प्रज्वल थान्जू, महासचिवमा कमल ज्ञवाली, कोषाध्यक्षमा टङ्कप्रसाद खनाल, सचिवमा यादवप्रसाद भण्डारी तथा सदस्यमा कोशलराज भण्डारी, निश्चल शर्मा र विनोदराज न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले लक्ष्मी अधिकारीलाई सदस्यमा मनोनीत गरेको छ ।
नयाँ कार्यसमितिलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा सङ्घका तर्फबाट उत्कृष्ट उद्योगका रूपमा शिवशक्ति सोप इन्डस्ट्रिज प्रालिलाई सम्मान गरिएको थियो ।
बुटवल औद्योगिक क्षेत्रमा ७० वटा उद्योग स्थापना भएकामा चार वटा बन्द भएका छन् भने ६६ वटा सञ्चालनमा छन् । बुटवल औद्योगिक क्षेत्रका ६६ उद्योगबाट करिब तीन हजार जनाले प्रत्यक्ष रोजगार पाएका छन् । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने हो भने औद्योगिक विकास हुनुपर्ने बताउनुभयो । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहिरा पाठकले विभिन्न कारणले नेपालको औद्योगिक वातावरणमा समस्या देखा परेको उल्लेख गर्दै औद्योगिक क्षेत्रका उद्योगको समस्या समाधानका लागि राज्यको ध्यान जानु जरुरी रहेकोमा जोड दिनुभयो ।
त्यसै गरी कार्यक्रममा उद्योग परिसङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले बुटवल औद्योगिक क्षेत्र प्रदेश सरकारको गहना भएको बताउँदै त्यसको भौतिक विकासमा जोड दिन आग्रह गर्नुभयो । सङ्घका निवर्तमान अध्यक्ष हिरामणी भट्टराईले बुटवल धागो कारखानाले ओगटेको १४३ रोपनी जग्गा प्रयोगविहीन अवस्थामा रहेको बताउँदै बुटवलका उद्योग विस्तारका लागि जग्गाको कमी भइरहेका बेला उक्त जग्गा औद्योगिक क्षेत्रमा रहेका उद्योगीले भोग चलन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।