• २० माघ २०८१, आइतबार

जोगाइँदै सीमसार, बचाइँदै मुहान

blog

घोराही उपमहानगरपालिकाभित्र रहेको सीमरास क्षेत्र । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसीपुर, माघ २० गते ।
उसो त दाङ उपत्यका भन्नावित्तिकै मरुभूमीकरण क्षेत्रजस्तै ठानिन्छ । उपत्यकाभित्र ससाना ठाँडा खोलाबाहेक ठुला नदी छैनन् । महाभारत पर्वत हुँदै बग्ने स–साना खहरे वर्षायाममा बढेपनि हिउँद लागेसँगै खोलामा कमिलाका ताती हिँड्छन् ।

पछिल्लो समयमा स्थानीय, प्रदेश र संघ सरकारले उपत्यकाभित्र सीमसार क्षेत्र संरक्षण, खोल्सा, तालतलैया थुनेर जलाशय निर्माण सुरु गरेको छन् । बाह्रकुने दह, चेपेलगायतका औलामा गन्न सकिने तालतलैयाको मात्रै नाम आउथ्यो तर अहिले कृत्रिमरुपमा जिल्लाभर ७० बढी जलाशय निर्माण गरिएको छ ।

प्राकृतिक रूपमा रहेका चेपे, बाह्रकुने, चरिङ्गेलगायतका ताललाई समेत फराकिलो बनाइएको छ ।

उपत्यकाको सबैभन्दा बढी घोराही उपमहानगरपालिकाभित्र मात्रै ४३ वटा जलाशय निर्माण गरिएको छ भने तुलसीपुर उपमहानगरपालिकाभित्र १४ वटा जलाशय निर्माण गरिएको छ । बबई गाउँपालिकामा ३  वटा, दंगीशरणमा पाँच वटा र  शान्तिनगर गाउँपालिकामा दुई वटा जलाशय निर्माण गरिएको छ ।

जलाशय निर्माणसँगै कृषकहरूले बाह्रै महिना तरकारी खेती, अन्न उत्पादन गर्दै आएका छन् भने माछापालन कतै स्थानीयले डुङ्गा सञ्चालन गरेर पर्यापर्यटन आकर्षणको केन्द्र बनेका छन् । त्यस्तै जलाशय बढ्दै जाँदा नयाँ नयाँ चराचुरुगी समेत आउन थालेका छन् । विगतमा गर्मीयाममा सुक्दै आएको कुवा, जरुवामा समेत पानी जम्मा हुँदै आएको छ ।

डिभिजन वन कार्यालयले मात्रै जिल्लाका बबई, तुलसीपुर, घोराही, शान्ति नगरपालिकाका वन क्षेत्रमा त्यस्ता सीमसार क्षेत्रको संरक्षण अभियान नै सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयमार्फत विभिन्न सामुदायिक वन क्षेत्रका पोखरी संरक्षण कार्य सम्पन्न गरिएको छ । कार्यालयले जैविक विविधता कायम गर्न, वन क्षेत्रमा गर्मीयाममा डढेलो नियन्त्रण गर्न, जलचर, थलचर, वन्यजन्तुको संरक्षणका लागि पोखरी निर्माण गरेको छ ।

पर्यावरणकर्मी डिल्लीबहादुर रावत जिल्लामा सीमसार क्षेत्र संरक्षण अभियानकै रुपमा सञ्चालन भएपछि नयाँ नयाँ प्रजातिका चराहरु देखिन थालेको बताउनुभयो । उहाँले उत्तरी क्षेत्रमा निर्माण गरिने जलाशय, पोखरीले जैविक विविधता कायम गर्नुका साथै गर्मीयाममा पानीका मुहान सुक्ने समस्या दीर्घकालीन रुपमा समाधान हुने बताउनुभयो । उपत्यकाभित्र जलाशय निर्माणले मरुभूमीकरण हुनबाट मात्रै जोगाएको छैन, प्राकृतिक सुन्दरता कायम, पारिस्थितिक प्रणाली जोगाउनसमेत उत्तिकै योगदान दिएको वातावरणकर्मी डिल्लीबहादुर रावतको ठम्याइ छ ।

जिल्लामा सीमसार क्षेत्रको संरक्षणका साथै जलाशय निर्माण गरेपछि बाहिरबाट नयाँ प्रजातिका चराहरु समेत आउन थालेका छन् । वातावरणका क्षेत्रका काम गरिरहेको पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले गरेको एक अध्ययनअनुसार  घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरको चरिङ्गे दहमा सरकारद्वारा संरक्षित गरिएको सेतो गरुड फेला परेको छ ।

सीमसार क्षेत्रमा सेतो बकुल्ला, हुट्टििट्याउ, सीम चल्ला फेला परेका छन् घोराही उपमहानगरपालिकाको रामपुरमा रहेको चरिङ्गे दह, चेपे ड्याम र ढिकपुरमा रहेको दुन्द्रा तालमासमेत त्यस क्षेत्रमा आउने चराको बारेमा अध्ययन गरिएको संस्थाले जनाएको छ । 

घोराही उपमहानगरपालिका वडा नम्बर १० ढिकपुरमा रहेको दुन्द्रा तालमा चीन, साइबेरियाबाट जाडो मौसममा चराहरु गतवर्ष आउने गरेका छन् । दुन्द्रा तालमा विशेष गरेर बटुक हाँस पाइने गरेकोमा यस वर्ष चोरी सिकारीका कारण लोप भएको हुन सक्ने अध्यक्ष रावतले जानकारी दिनुभयो । चरा संरक्षणकर्मी चिरञ्जिवी खनालका अनुसार जिल्लामा सीमसार क्षेत्रको संरक्षणसँगै नदी, खोलामा जाने चराहरू त्यस्ता सीमसार क्षेत्रमा देखिन थालेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाँसगढीको ज्याङ्टे जरुवाको सीमसार स्थानीय तहले संरक्षण गरेको छ । वडाध्यक्ष प्रेमनाथ योगीले सीमसार क्षेत्रमा मासिँदै जानथालेपछि संरक्षण गरिएको बताउनुभयो ।