• १९ माघ २०८१, शनिबार

हराएको दुई सातापछि गुरूङको शव फेला

blog

वनमा मृत भेटिएका गुरूङको शव निकाल्दै प्रहरी र स्थानीय । तस्बिर : नवीनराज कुईकेल

नवीनराज कुईकेल
लमजुङ, माघ १९ गते ।
हराएको दुई सातापछि लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारका ६७ वर्षीय रामबहादुर गुरुङ मृत अवस्थामा भेटिनुभएको छ ।

माघ ३ गतेदेखि हराउनुभएका उहाँ सिउँडीबार माथिको फेदीकुना सामुदायिक वनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार भीरबाट लडेर रुखमा अड्किरहेको अवस्थामा गुरुङको शव भेटिएको हो । स्थानीयले जङ्गलमा एउटा शव रहेको जानकारी प्रहरीलाई गराएका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चोनु गुरुङको कमान्डमा अनुसन्धान टोली खटिएर मुचुल्का उठाउनुका साथै शव निकालेको थियो ।

दुई सातादेखि प्रहरी, आफन्त र स्थानीयले खोजविन गर्दा गुरुङ भेटिनुभएको थिएन । गुरूङको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल बेसीसहरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।