• २० माघ २०८१, आइतबार

थालियो कफीको व्यावसायिक खेती

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, माघ २० गते । मोरङको लेटाङ–७, वारङ्गीका राजविक्रम राई चार वर्षयता कफीको व्यावसायिक खेतीमा लाग्नुभएको छ । उत्तरी मोरङको साबिक वारङ्गीका धेरै जसो मानिस बसाइँ सरेर लेटाङ झरिसके । कोही ठुला सहरतिर लागे तर ३४ वर्षीय राजविक्रम राई नगदे बाली उत्पादन गर्न पहाडमा कठोर मेहनत गरिरहनुभएको छ । वारङ्गी नगदे बालीका लागि उर्वर भूमि मानिन्छ । अदुवा, कुचो र तेजपात (सिन्कौली), अलैँचीको व्यावसायिक खेती गरिरहेका किसान अहिले नयाँ बालीका रूपमा कफी उत्पादनमा लागेका छन् । परम्परागत रूपमा अदुवा, अम्रिसो र तेजपात खेती गर्दाभन्दा कफी खेतीबाट राम्रो आर्थिक लाभ लिन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अदुवा, अम्रिसो र तेजपातलाई खासै मेहनत छैन । रोपेपछि थोर बहुत फल्छ तर कफी खेतीमा असाध्यै मेहनत गर्नु पर्छ ।” 

राईले ५० रोपनी जग्गामा विभिन्न प्रजातिका कफीका बिरुवा लगाउनुभएको छ । अहिले धमाधम लगानी बढाइरहेका राईले वारङ्गीको समला डाँडालाई कफीमय बनाउनुभएको छ । उहाँले भन्नुभयो, “मैले कसैलाई देखाउन, अनुदान प्राप्त गर्न वा रमाइलोका लागि खेती गरेको हैन । अबको पाँच वर्षपछि वार्षिक ५० लाख रुपियाँ आम्दानी लिने लक्ष्यसहित खेतीमा लागेको छु ।”

राजविव्रmमलाई स्नातक उत्तीर्ण भएपछि आफन्त र छिमेकीले विदेश जान सुझाए । आफन्त सबै विदेशमा थिए । चाहँदा उहाँलाई पनि विदेश यात्रा असहज थिएन तर राईले कफी खेती विस्तार गर्ने र गाउँघर छाडेर जान लागेका २०/३० जनालाई रोजगारी दिने सपना बुनेर व्यवसाय विस्तार गरिरहनुभएको छ । 

उहाँले जापानिज कटुसको पनि व्यावसायिक खेती थाल्नुभएको छ । नेपाली बजारमा जापानिज कटुस प्रतिकेजी चार सय रुपियाँमा बिक्री भइरहेको छ । हाल वार्षिक चार सय केजी कफी बिव्रmी गरिरहेका राई कफी बिक्रीबाट तीन लाख रुपियाँ आम्दानी भइरहेको बताउनुहुन्छ । प्रशोधित कफी, कफीका दाना र कफीका बिरुवासमेत बिक्री गरिरहनुभएका राईलाई परिवारका सदस्यको भरपुर सहयोग रहेको छ । राईको नर्सरीमा हाल ५० हजार बिरुवा रोप्न लायक भएका छन् । देशभरका विभिन्न पालिकाले राईको नर्सरीसँग बिरुवा माग गर्ने गर्छन् । राईले हालसम्म कफी खेतीमा २२ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ । 

राजविव्रmमको कफी खेती देखेपछि स्थानीय छिमेकीले पनि राईको व्यवसायलाई पछ्याएका छन् । कर्णबहादुर लिम्बूले ११ रोपनीमा कफी खेती गर्नुभएको छ । दाना उत्पादन गर्ने र बिक्री गर्ने किसान १५० भन्दा बढी हुनुहुन्छ । त्यसमा २२ जना किसानले ठुलो परिमाणमा खेती गर्नुभएको छ । गाउँमा वारङ्गी कफी कृषक समूह गठन गरिएको छ । सोही संस्थामार्फत किसानलाई कफी खेतीसम्बन्धी तालिम, शिक्षा दिइँदै आएको छ । यो वर्ष प्रदेश सरकारको ससर्त अनुदानबाट प्राप्त सहयोगबाट थप ४० हजार बिरुवा लगाउने कार्यव्रmम छ । सरकारले प्राविधिक सहयोग र तालिम दिएपछि बसाइँ सरेर तराई झरेकाहरू पनि पहाड चढेर कफी खेती गर्न इच्छुक भएको राजविक्रमले बताउनुभयो ।

महाभारत अर्गानिक कफी फर्म लेटाङ–१ का सञ्चालक चन्द्रबहादुर राईले दुई सय रोपनीमा कफी खेती लगाउनुभएको छ । राईले भन्नुभयो, “कफी खेतीले गर्दा गाउँ छोड्न पाइएन ।” विद्यालयको जागिर छोडेर व्यावसायिक कफी खेतीमा लागेका राई बिहानदेखि बेलुकासम्म कफी बारीमै बिताउनुहुन्छ । कफी खेतीबाट वार्षिक पाँच लाख रुपियाँ आम्दानी गरिरहेका राईले भन्नुभयो, “बिरुवा र दाना बिक्रीबाट पनि राम्रो आम्दानी भइरहेको छ ।”

सामान्यतः एक रोपनी कफी खेतीबाट ८० हजार रुपियाँ आम्दानी लिन सकिन्छ । मकै, गहुँ, कोदो खेतीबाट त १० हजार रुपियाँ आम्दानी हुन पनि गाह्रो पर्छ । 

लेटाङ नगरपालिकाले चालु आर्थिक वर्षमा कृषिको व्यावसायिकीकरण र यान्त्रिकीकरणका लागि एक करोड रुपियाँ विनियोजन गरेको लेटाङ नगरपालिका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले बताउनुभयो । कृषि उत्पादनका क्षेत्रमा कोशी प्रदेशको नमुना नगर बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ । नगरले अलैँची, अदुवा, तेजपात, अम्रिसो, सुन्तला उत्पादनका लागि फरक फरक कार्यक्रम सञ्चालन गरिरहेको छ ।