• २० माघ २०८१, आइतबार

गैँडा स्थानान्तरणको काम सुरु

blog

नवलपुर समाचारदाता

नवलपुर, माघ २० गते । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । पहिलो दिन पश्चिम सेक्टरमा रहेको कावासोती–१५ मा पर्ने गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट अन्दाजी १५ वर्षको पोथी गैँडालाई निकुञ्जको पूर्वी सेक्टर पठाइएको हो । 

बिहान १० बजेदेखि स्थानान्तरणका लागि छ वटा हात्तीको सहयोगमा गैँडा खोज्ने व्रmममा साँझपख मात्रै सफल भएको थियो । १५ वर्षको पोथी गैँडालाई डार्ट गरेर ट्रकमा राखी पूर्वी सेक्टर पठाइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, प्रवक्ता बेदकुमार ढकाल, विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा. गणेश पन्तसहित विभाग, निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेनाको टोली गैँडा स्थानान्तरणका लागि नवलपुरमा खटिएको छ । 

पश्चिम सेक्टरबाट प्रजननयोग्य गैँडा लगेर पूर्वी सेक्टरका गैँडासँग प्रजनन गराउनका लागि स्थानान्तरण गर्न लागिएको विभागका महानिर्देशक डा. कँडेलले बताउनुभयो । सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । 

वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिएपछि गत आर्थिक वर्षको चैत महिनामा पश्चिम सेक्टरबाट छ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो ।

पश्चिम सेक्टरबाट गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्दा पश्चिम सेक्टरको नवलपुर र यहाँको मध्यवर्ती क्षेत्रमा हुने गरेको पर्यटकीय गतिविधिमा असर पर्ने भन्दै पर्यटन व्यवसायीले गैँडा स्थानान्तरण नगर्न निकुञ्जलाई आग्रह गरेको भए पनि निकुञ्जले स्थानान्तरणलाई अगाडि बढाएको हो ।

जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता आँैल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउँदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने महानिर्देशक डा. पन्तको भनाइ छ ।