• १९ माघ २०८१, शनिबार

सात हजार बढीलाई क्यान्सर विरुद्धको खोप लगाइने

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ १९ गते । ओखलढुङ्गाका सात हजारभन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउने तयारी गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरूद्ध लगाइने एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ । 

माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाइ एचपीभी खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द्र राजवंशीले बताउनुभयो । 

अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने काम भएको प्रमुख राजवंशीले जानकारी दिनुभयो । जिल्लाका सात हजार २०१ जना किशोरीलाई खोप लगाइने रावंशीको भनाइ छ । 

खोप सुरक्षित रहेकाले ढुक्कसँग खोप अभियानमा सहभागी हुन प्रमुख राजवंशीले आग्रह गर्नुभएको छ । किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने भएकाले अभियानलाई सफलतापुर्वक सम्मन गर्नका लागि सबैको सहयोग आवश्यक पर्नेमा उहाँको जोड छ । 

जिल्लाका १३४ विद्यालयको खोप केन्द्रबाट किशोरीहरुलाई खोप लगाईने र छुटेकाहरुलाई स्वास्थ्य चौकीहरुबाट पनि खोप प्रदान गरिने खोप फोकल पर्सन उमा गुरुङले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पूर्ण सरोकारवालाहरुलाई कार्यालयले आग्रह गरेको छ ।