• २४ जेठ २०८२, शनिबार

क्यानडा र चीन ‘सञ्चार नियमित गर्न’ सहमत

blog

मोन्ट्रियल, क्यानडा, जेठ २३ गते । तनावपूर्ण कूटनीतिक सम्बन्धपछि क्यानडा र चीनबिच सञ्चारका माध्यम नियमित गर्न सहमति भएको बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको कार्यालयले जनाएको छ । 

मार्क कार्नीले चीनका प्रधानमन्त्री ली कियाङसँग कुराकानी गर्नुभएको छ । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्नुका साथै सञ्चारका माध्यमको उपायको महत्वबारे जोड दिनुभएको छ । उहाँहरूबिच व्यापारको बारेमा पनि छलफल भएको र ‘फेन्टानिल सङ्कटलाई सम्बोधन गर्न’ सँगै काम गर्न दुबै देशका सरकारहरू प्रतिबद्ध रहेने बताइएको छ ।

सन् २०१८ मा अमेरिकी वारेन्टका आधारमा चिनियाँ टेलिकमका एक वरिष्ठ अधिकारी पक्राउ परेपछि बेइजिङ र ओटावाबिचको सम्बन्ध पछिल्ला वर्षहरूमा तनावपूर्ण बनेको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ प्रधानमन्त्री लीले क्यानडाका समकक्षी कार्नीसँग हालैका वर्षहरूमा चीन-क्यानडा सम्बन्धमा अनावश्यक गडबडी र गम्भीर कठिनाइको सामना गर्नुपरेको बताउनुभएको थियो । 

बढ्दो एकपक्षीयवाद र संरक्षणवादको सामना गर्दै चीन ‘बहुपक्षीयता र स्वतन्त्र व्यापारलाई संयुक्तरूपमा कायम राख्न क्यानडासँग मिलेर काम गर्न इच्छुक रहेको’ उहाँले बताउनुभयो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कर वृद्धिले दुवै देशलाई निशाना बनाएको भन्दै दुबैले उक्त नीतिको आलोचना गरेका छन् । रासस/एएफपी