चितवन समाचारदाता
चितवन, माघ २० गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहकार्य भएको बताउनुभएको छ ।
नेकपा (एमाले) रत्ननगर नगर कमिटीको शनिबार भएको १० औँ नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकलाई बचाउन एमाले र कांग्रेसको गठबन्धन बनेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “आगामी २०८४ को निर्वाचनमा दुई दलबिच प्रतिस्पर्धा हुन्छ । कांग्रेस र एमालेको प्रतिस्पर्धा सधैँ रहेको छ । सरकारमा जाँदैमा निर्वाचनमा प्रतिस्पर्धा हँुदैन भन्ने होइन । ठुला दलबिच प्रतिस्पर्धा नै लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ ।” मुलुकमा केही भएको छैन । सरकारले केही काम गरेको छैन भनी गलत प्रचारबाजी भएको भन्दै उहाँले सरकारले गरेका राम्रा कामको जनतालाई जानकारी गराउन पार्टी सदस्यलाई निर्देशनसमेत दिनुभयो ।
कार्यव्रmममा उहाँले सुकुमवासीलाई लालपुर्जा वितरण, विकास निर्माण र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले अध्यादेश जारी गरेको स्पष्ट गर्नुभयो । शासनसत्ता टिकाउन नभई विकास निर्माण र जनतालाई छिटो सेवा दिन सरकारले अध्यादेश ल्याएको उहाँको भनाइ थियो ।
कार्यव्रmममा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले विचार र सिद्धान्तका हिसाबले एमाले मुलुकको सर्वोत्कृट पार्टी भएको बताउनुभयो । नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेलाई पुरानै अवस्थामा फर्काउन पार्टी निर्माणको कामलाई सूत्रबद्ध तरिकाले अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यव्रmममा पार्टी निर्माणमा योगदान गरेकालाई सम्मान गरिएको नगर कमिटी सचिव शिव सुवेदीले जानकारी दिनुभयो । नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय सदस्यहरू प्रभा बराल, कपिलदेव पोखरेल, स्थायी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज टीका पौडेल, जिल्ला अध्यक्ष कमलराज पाठक, रत्ननगरका संस्थापक मेयर नारायण वन, उपमेयर यादवप्रसाद पाठक, कालिका नगर कमिटीका अध्यक्ष केशव लामालगायतले सरकारको कामबारे मन्तव्य राख्नुभएको थियो । तीन सय प्रतिनिधि सहभागी अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर कमिटी चयन गर्ने बताइएको छ ।