• २० माघ २०८१, आइतबार

सकस बेहोर्दै पढ्न आउँछन् विद्यार्थी

blog

सुनकोशी नदीको बाढीले क्षतिग्रस्त बनाएको पुछिघाट र चैनपुर जोड्ने झोलुङ्गे पुल ।

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ २० गते । सिन्धुलीको सुनकोशी गाँउपालिका–६, खाल्टेस्थित दीर्घप्रदीप माविमा अध्ययनरत छात्र सुमन माझीले विद्यालय आउन निकै सास्ती खेप्नु परेको छ । सुनकोशी नदीमा रहेको झोलुङ्गे पुल गत असोजको दोस्रो साता आएको बाढीले बगाएसँगै विद्यार्थीले सास्ती भोग्नु परेको उहाँले गुनासो गर्नुभयो ।

रामेछापको खाँडादेवी गाउँपालिका पुछिघाट निवासी सुमनलाई विद्यालय आवतजावत गर्न दैनिक सुनकोशी नदी वारपार गर्नु पर्छ । पुछिघाट र चैनपुर जोड्ने सुनकोशी नदीमाथि रहेको झोलुङ्गे पुल सुनकोशीको बाढीले बगाएपछि जोखिम मोलेरै पढ्न आउनु परेको हो ।

“बाढीले बगाएर बाँकी रहेको पुलको लट्ठामा बाँधेर राखिएको पाइपमा झुन्डिएर पढ्न आउँछौँ,” उहाँले भन्नुभयो, “डुङ्गाबाट नदी तर्न धेरै माथि जाँदा पढ्न आउन ढिलो हुन्छ । घुमेर जाँदाआउँदा रात परिसकेको हुन्छ ।” उहाँका अनुसार सुनकोशी–६ मा रहेको दीर्घप्रदीप मावि खाल्टे र पञ्चकन्या प्राथमिक विद्यालय चैनपुरमा गरी रामेछापबाट सिन्धुलीतर्फ सुनकोशी नदी पार गरेर २८ जना विद्यार्थी दैनिक आवतजावत गर्छन् । केही विद्यार्थी डुङ्गामार्फत आउजाउ गर्छन् भने केही सोही पुलमा झुन्डिएर वारपार गर्छन् ।

गत असोजको दोस्रो साता सुनकोशी नदीमा आएको बाढीले बगाएर सुनकोशी गाउँपालिकामा पाँच वटा, फिक्कल गाउँपालिकामा छ वटा, गोलन्जोर गाउँपालिकामा चार वटा झोलुङ्गे पुल बगाएको छ । फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले सुनकोशी नदीको बाढीले पालिकाभित्र चार वटा पुल पूर्ण रूपमा बगाएको र दुई वटामा आंशिक क्षति गरेको जानकारी दिनुभयो । 

“आंशिक क्षति भएका पुल मर्मत गर्न सके सञ्चालनमा आउने खालका छन्,” उहाँले भन्नुभयो, “बाँकी अन्य ठाउँमा नयाँ नै बनाउनुपर्ने अवस्था छ । उहाँका अनुसार तीनखण्डे पुल बगाएकाले सुनकोशीपारि रहेको माझी बस्तीका बालबालिकालाई समेत पढ्न समस्या भएको छ । 

माझी समुदायको उक्त बस्तीमा पढ्न विद्यालय नभएकाले त्यहाँका बालबालिका तीनखण्डे झोलुङ्गे पुल तरेर सिन्धुलीको फिक्कलको तीनखण्डे आधारभूत विद्यालयमा पढ्न आउने गरेको जानकारी दिनुभयो । माझी समुदाका बालबालिकालाई पढ्न निकै टाढा जानुपर्ने भएकाले पुल तरेर वारिपट्टिको नजिकैको विद्यालयमा पढ्न आउने गरेकोमा पुल नहुँदा समस्या भएको हो ।

बाढीले बगाएका पुलमध्ये खुर्कोट–मन्थली सडक अन्तर्गत खुर्कोटबाट रामेछापको सेलेघाट जोड्ने सुनकोशी नदीमा नेपाली सेनाले बेलिब्रिज बनाएपछि सञ्चालनमा आएको छ । क्षति पुगेका पुल तत्काल मर्मत तथा निर्माण गरी सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।