बोमलाल गिरी
नवलपुर, माघ १९ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ डिभिजन वन कार्यालय नजिकै बस र इभि हाइस एक आपसमा ठक्कर खाँदा हाइसमा सवार १ जनाको मृत्यु भएको छ ।
हाइसमै सवार ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बसमा सवार १५ जना भने सकुसल छन् । आज बिहान काठमाडौंबाट दाङ हिँडेको रा १ ख ३३६१ नम्बरको यात्रु बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र. ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एक आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी हाइसमा सवार भारत कोलकत्ता मिधिनिपुर जिल्ला घर भएको अन्दाजी ४० वर्षिय शंकर भनेर चिनिने भारतीय नागरिकको मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा परी हाइस चालक लम्जुङ जिल्लाको मस्याङर्दी गाउँपालिका ९ बस्ने ३० वर्षीय दिनेश न्यौपानी क्षेत्री सहित र ८ जना भारतीय नागरिक घाइते भएका हुन् ।
घाइते ८ जना भारतीय नागरिक भारत कोलकत्ता मिधिनिपुर जिल्ला निवासी हुनुहुन्छ । उहाँहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू मध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने बाँकी ७ जना मध्यम घाइते रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।