• १९ माघ २०८१, शनिबार

मह प्रशोधन उद्योग सञ्चालन

blog

जाजरकोट समाचारदाता

जाजरकोट, माघ १९ गते  । जाजरकोटको खलङ्गा साना किसान कृषि सहकारी संस्थाले पहिलो पटक मह प्रशोधन उद्योग स्थापना गरेको छ । सहकारीले इन इलम परियोजना अन्तर्गत हेल्भेटास नेपालसँगको सहकार्यमा खलङ्गा मह प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो ।  सहकारीका अध्यक्ष योगमाया कार्कीले खलङ्गा मह प्रशोधन उद्योग सञ्चालन गरेपछि किसानलाई सुविधा पुगेको बताउनुभयो । उहाँले कृषकको उत्पादनलाई सहज बजारीकरण गर्न र महको शुद्धता कायम भई मूल्यमा एकरूपता कायम गर्न आफूहरूले मह प्रशोधन उद्योग सञ्चालनमा ल्याएको जनाउनुभयो । 

गत भदौ २५ गते उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटमा दर्ता गरेर मह प्रशोधन उद्योग सञ्चालनमा आएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतबाट अनुमतिपत्र लिएर सञ्चालन गरिएको उद्योगमा महको लेबलिङ, प्याकेजिङलगायतका काम सुरु गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । उद्योगले स्थानीय महिलालाई रोजगारी सिर्जना गर्नुका साथै बजारीकरणमा सघाउ पुग्ने विश्वास गरिएको छ । 

सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, हेल्भेटास नेपालसँगको समन्वय तथा सहकार्यमा मौरीपालक किसानलाई आधुनिक घारसहितका गोला, महदानीलगायतका उपकरण वितरण र कृत्रिम चाका निर्माणसम्बन्धी उद्यमशील तालिम सञ्चालन गर्दै आएको जानकारी उहाँले दिनुभयो । हाल प्रतिकिलो एक हजार दुई सय रुपियाँमा मह बिक्री गर्दै आएको उद्योगले गत कात्तिकदेखि हालसम्म १२ क्विन्टल मह प्रशोधन गरेर बिक्री वितरण गरिसकेको छ । 

कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी नवीनराज आचार्यले जाजरकोट मह उत्पादनका लागि राम्रो क्षेत्र मानिने बताउनुभयो । यस जिल्लामा चालु आव २०८१/८२ मा करिब ११० मेट्रिक टन मह उत्पादन भएको छ । उहाँले यस जिल्लामा माहुरी चरनका लागि उत्कृष्ट मानिने चिउरी जङ्गलमा प्रशस्त मात्रामा पाइने भएकाले करिब पाँच सय किसान १६ हजार घारबाट व्यावसायिक रूपमा यस पेसामा संलग्न रहेको बताउनुभयो । 

जिल्लामा मह प्रशोधन उद्योग स्थापना भएपछि माहुरीपालक किसान तथा उपभोक्तालाई सहज हुने विश्वास गरिएको छ । आफूहरूका लागि बजारको समस्या हट्ने भेरी नगरपालिका–१, पिपे, ज्यामिरेका माहुरीपालक कृषक समूहका अध्यक्ष मनबहादुर रानाले बताउनुभयो ।