मुसीकोट समाचारदाता
रुकुमपश्चिम, माघ १९ गते । रुकुमपश्चिमको आठबिसकोटमा निर्माणाधीन नगर अस्पतालको भवन अलपत्र अवस्थामा रहेको छ । नगरपालिका–९, राडीमा तीन वर्षअघि निर्माण सुरु गरिएको भवन अलपत्र परेको हो । निर्माणमा बेवास्ता भएपछि भवनका लागि राखिएका छडमा खिया खाग्न थालेको छ भने खरिद भएका कच्चा सामग्री बेकामे भएका छन् ।
आठबिसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहीले तीन वर्षसम्म अस्पतालको पहिलो तला नै ढलान हुन नसकेको बताउनुभयो । दुई वर्षमै निर्माण सम्पन्न हुनुपर्ने गरी सुरु भएको काम दुई पटक म्याद थप्प गर्दा पनि २० प्रतिशत मात्रै प्रगति भएको देखिन्छ । ठेकेदार कम्पनीको चरम लापर्बाहीका कारण भवन निर्माणको काम अलपत्र रहेको उपप्रमुख शाहीले उल्लेख गर्नुभयो । उहाँले निर्माण व्यवसायीलाई स्थानीय सरकारका तर्फबाट ताकिता गरिरहेको तर ठेकेदारले अटेर गरेको जनाउनुभयो । सङ्घीय सरकारको बजेट व्यवस्थापनमा नगरपालिकासँग क्याराभान कन्स्ट्रक्सन प्रालिले १२ करोड रुपियाँमा भवन निर्माणका लागि २०७८ साल जेठ १० गते ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै समयमै काम नगरेपछि दुई पटक म्याद थप भएको थियो । पहिलो पटक २०८० वैशाख १० मा र दोस्रो पटक २०८१ जेठ १० गते म्याद थप हुँदा पनि अझै काम हुन सकेको छैन ।
अस्पताल भवन निर्माणमा भएको ढिलाइले नगर अस्पतालबाट हुने सेवा प्रभावित भएको छ । साबिकको स्वास्थ्य चौकी रहेको स्थानमा नगरपालिका र प्रदेश सरकारले थप गरिएको भवनमा नगर अस्पताल सञ्चालन भइरहेको छ । अस्पतालका निमित्त प्रमुख धनञ्जय रिजालका अनुसार साँघुरो भवनमा रहेर स्वास्थ्य सेवा प्रवाह गर्नु परेको बताउनुभयो । उता करोडौँको भवन निर्माण अलपत्र रहेको तर जसोतसो स्वास्थ्य सेवा दिन बाध्य रहेको उहाँले उल्लेख गर्नुभयो । अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचारसमेत प्रभावित भएको छ ।
अस्पताल सञ्चालन समितिका उपाध्यक्ष टीकाराम सुनारले निर्माण व्यवसायीले शक्ति केन्द्रको बलमा भवन निर्माणमा बेवास्ता गरेको बताउनुभयो । अस्पताल भवन नै अपुग भएपछि सेवा थप गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो । भवन अलपत्र हुँदा सेवाग्राहीसमेत मारमा पर्दै आएको गुनासो रहेको छ ।