हेटौँडा समाचारदाता
हेटौँडा, माघ १९ गते । मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटेल सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने दामन क्षेत्रका होटल अहिले सुनसान बनेको यहाँका होटेल व्यवसायीको गुनासो छ । तराई र काठमाडौँ जोड्ने मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथ हुँदै पुगिने पर्यटकीय क्षेत्र दामन अहिले सुनसान बनेको छ । पछिल्लो समय पर्यटकीय क्षेत्रको विस्तार र नयाँ गन्तव्य थपिनुका साथैँ तराईसँग काठमाडौँ जोड्ने सडक सञ्जालको नयाँ विकल्प र विस्तारसँगै यहाँको पर्यटनमा कमी आएको स्थानीयवासीको भनाइ छ ।
दामन क्षेत्रमा दुई दशकदेखि होटेल व्यवसाय गर्दै आउनुभएका राजेन्द्र भुजेलले हेटौँडा–काठमाडौँ तीन घण्टामा पुग्ने बाटो खुलेपछि यो सडकखण्डबाट आवतजावत गर्ने सवारीसाधन न्यून भएको बताउनुभयो । होटेल व्यवसायी भुजेलले भन्नुभयो, “यो बाटो हुँदै हेटौँडाबाट काठमाडौँ जाँदा ६÷७ घण्टा लाग्छ, हेटौँडा–कुलेखानी र कान्तिलोकपथ हुँदै काठमाडौँ जाँदा छोटो समयमै पुग्न सकिने भएकाले यो सडकखण्ड प्रयोग गर्नेको सङ्ख्या कमी हुँदै गएको छ । आफ्नै घरमा होटेल व्यवसाय सञ्चालन गरेका कारण मात्रै यो पेसामा टिकिरहेका छौँ, व्यापार नहुँदा होटेल व्यवसाय धराशायी अवस्थामा पुगेको छ ।”
विगत २२ वर्षदेखि दामनमा होटेल सञ्चालन गरिरहनुभएकी होटेल शेर्पाकी सञ्चालक मञ्जु शेर्पाले पर्यटकको आगमन आधाभन्दा बढी घटेको जानकारी दिनुभयो । जाडो मौसममा हिउँ परेको बेला वीरगन्ज, चितवन, हेटौँडाबाट आन्तरिक पर्यटक आउने गरे पनि यसपालि हिउँ नपरेका कारण पर्यटकको आगमन न्यून भएको रहेको उहाँले बताउनुभयो ।
विगत १४ वर्षदेखि होटेल व्यवसाय गर्दै आउनुभएका अधिकारी होटेल एन्ड लजका सञ्चालक सुरज अधिकारीले विगतको तुलनामा यस वर्ष धेरै कम व्यापार भएको बताउनुभयो । चार दशकदेखि होटेल व्यवसाय गर्दै आउनुभएकी सुधेसा भुजेलले कुलेखानीको बाटो नखुल्दा व्यापार राम्रो भए पनि अहिले यो राजमार्ग हुँदै जानेको सङ्ख्या न्यून रहेकाले होटेल व्यवसाय निकै सङ्कटमा परेको बताउनुभयो । उहाँका अनुसार केही वर्ष पहिलेसम्म यहाँका होटेलमा नियमित खाना पाक्ने गरेको भए पनि हाल भने अर्डर अनुसार मात्रै खाना पकाउने गरिएको छ ।
मकवानपुरको थाहा नगरपालिकासँग २० वर्ष अवधिका लागि भाडामा लिएर दामन रिसोर्ट सञ्चालन गर्दै आउनुभएका गोविन्दप्रसाद घिमिरेले केही समय बन्द भएको रिसोर्ट पुनर्निर्माण गरेर सञ्चालन गरिरहनुभएको छ तर पाहुना भने खासै आउन गरेका छैनन् । दामन भ्युटावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित २५ भन्दा बढी उच्च हिमशिखरको प्रत्यक्ष मनमोहक दृश्य देख्न सकिन्छ । आकर्षक पदमार्ग, शीतोष्ण हावापानी, विभिन्न धार्मिक स्थल, प्रशस्त जैविक विविधता, सम्पदा रहेकाले यहाँको भ्रमण गर्न उहाँले आग्रह गर्नुभयो । पर्यटकीय स्थलका रूपमा रहेको दामन काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा रहेर पनि सुनसान अवस्थामा छ ।