काठमाडौँ, माघ १७ गते । सरकारले भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठक २०८१ माघ १५ को निर्णय बमोजिम बाल अदालत सञ्चालनमा ल्याउने भएको हो।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडाैं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्धाको प्रादेशिक क्षेत्राधिकार रहने गरी भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय सुनाउनुभएको हो।
उक्त बाल अदालत २०८२ साल वैशाख २ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाइ छ ।
यसैगरी, सरकारले सिक्टा सिँचाइ आयोजनाका लागि आवश्यक पर्ने बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, वैजनाथ, जानकी, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
सरकारले थाइल्याण्डमा विसं २०८१ माघ १५ देखि २० सम्म आयोजना हुने ‘प्रेस्टिजियस एनुअल मिटिङ अफ द प्रिन्स महिडोल अवाडर्स कन्फ्रेन्स’ (पिएमएसी) कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तहरू क्रमशः डा सुमित्रा श्रेष्ठ अमात्य र किशोरकुमार सिलवाल आगामी फाुगन १३ देखि २० सम्म ‘एसियन इन्टिच्युट अफ टेक्नोलोजी’ (एआइटी) मा सञ्चालन हुने ‘गर्भनेन्स एण्ड एन्टी–करप्सन इरेडिसन स्ट्रेजी’ विषयक कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरूङले जानकारी दिनुभयो ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दोस्रो) का लागि विश्व बैंकको विकास नीति ऋणअन्तर्गत प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा २१ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई निरीक्षण अधिकृत तोक्ने र निरीक्षण अधिकृतको कार्यक्षेत्र नेपाभर रहने निर्णय गरिएको छ ।
त्यस्तै बोराङ नौबिसे (रातमाटे) २२० केभी प्रसारण लाइनको टावर निर्माण गर्न धादिङको रूविभ्याली, खनियाबास, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिका तथा नुवाकोटको तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिका क्षेत्रमा पर्ने निजी जग्गा प्राप्ति गर्न स्वीकृत दिने सरकारको निर्णय गरेको छ ।
गल्छी रातामाटे दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धादिङ र नुवाकोटमा दुई सय २० केभी प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माणका लागि धादिङको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा निजी जग्गाप्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
नेपाली सेनाका अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त सरकारले निर्णय गरेको छ । रामराजप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।