फडिन्द्र अधिकारी
लेखनाथ, माघ १८ गते । सशस्त्र प्रहरी बल एपिएफ आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ । शुक्रबार बिहान पोखरा रङ्गशालामा भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनल पुगेको हो ।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफ फाइनल पुगेको हो । खेलको टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बन्नुभयो ।
आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटक न्यु डायमन्ड स्पोर्टस क्लबसँग खेल्नेछ । शुक्रबार दिउँसो पुरुषतर्फको पहिलो क्वालिफायर खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुँदैछ ।
आर्मी समूह चरणको शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर आइपुगेका हुन् । शुक्रबारको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब खेल्ने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।
एलिमिनेटरका विजेताले पुुलिस र आर्मीबिचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । प्रतियोगिताको फाइनल माघ २० गते हुनेछ ।