• ४ वैशाख २०८१, मङ्गलबार

बाजुराको बूढीगङ्गा र उदयपुरको त्रियुगाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक

blog

काठमाडौं, जेठ १३ गते । देशभरका ७५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाबाहेक अरु सबै पलिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ  ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान  हुने भएको छ भने त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।

जहाँ प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले छ हजार २२६ मतसहित अग्रता लिइरहनुभएको छ भने  प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले पाँच हजार २७६ मत सहित पछ्याउनुभएको छ ।

यस्तै, उपप्रमुखमा कांग्रेसकै अग्रता छ । कांग्रेसका सरिता राइको पाँच हजार ६३१ मत छ भने प्रतिद्धन्दी नेकपा एमालेका महेश्वरी राइले पाँच हजार २३० मतसहित पछ्याइ रहनुभएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३२८ पालिका जितेको छ । त्यस्तै, एमालेले २०५, माओवादी केन्द्रले १२१ वटा पालिका जितेको छ ।

जनता समाजवादी पार्टीले ३०, नेकपा (एकीकृत समाजवादी)ले २० र अन्यले ६४ पालिका जितेका छन् ।

शुक्रबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डेटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेसले १४० पालिकामा प्रमुख पद जितेको छ । यस्तै, नेकपा एमालेले ८२, नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख पद जितेको छ । नेकपा एकीकृत समाजवादीले १२ पालिकामा प्रमुख पद जित्दा अन्य पार्टीले ३१ पालिकामा प्रमुख पद जितेका छन् ।

४६० गाउँपालिकातर्फ सबै पालिकाको मतपरिणाम आएको छ । जसमध्ये कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ । माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने जनता समाजवादी पार्टीले २१  र अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेको छ । कांगेसले ११० पालिकामा उपप्रमुख पद जितेको छ । यस्तै, एमालेले ११३ पालिकामा उपप्रमुख पद जितेको छ ।

माओवादी केन्द्रले ३३,जनता समाजवादीले १२ र अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् । यस्तै, कांग्रेसले १९०, एमालेले १२६,मओवादी केन्द्रले ९५,जनता समाजवादी पार्टीले १९ र अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनको सिनारी
२०७४ सालको स्थानीय तह सदस्य निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो ।पहिलो चरणमा वैशाख ३१ गते वागमती,गण्डकी र कर्णली (तत्कालिन प्रदेश ३,४ र ६) मा सम्पन्न भएको थियो । दोस्रो चरणको निर्वाचन असार १४ गते प्रदेश न १, लुम्बिनी र सुदूरपश्चिम प्रदेश (तत्कालिन प्रदेश १, ५ र ७) मा सम्पन्न भएको थियो भने तेस्रो चरणमा असोज २ गते मधेश प्रदेश (तत्कालीन प्रदेश २) मा सम्पन्न भएको थियो ।

उक्त निर्वाचनमा ७५३ पालिकामध्ये एमालेले प्रमुख अध्यक्षसहित २९४ पालिका  जितेर पहिलो पार्टी बनेको थियो । नेपाली कांग्रेसले प्रमुख अध्यक्षसहित २६६ पालिका जितेको थियो भने माओवादी केन्द्रले प्रमुख अध्यक्षसहित १०६ पालिका जितेको थियो । बाँकी अन्य पार्टीले जिते ।

यस्तै, एमालेले उपप्रमुख उपाध्यक्षसहित ३३१ पालिका जित्दा कांग्रेसले २२३ र माओवादी केन्द्रले १११ पालिका जितेका थिए । बाँकी अन्य पार्टीले जिते । एमालेले दुई हजार ५६० वडाअध्यक्ष पद जित्दा कांग्रेसले दुई हजार २८७ र मओवादी केन्द्रले एक हजार १०२ पद जितेका थिए । बाँकी अन्य पार्टीले जितेका थिए ।