• १८ माघ २०८१, शुक्रबार

दुई सहकारी ‘मर्ज’

blog

चितवन समाचारदाता

चितवन, माघ १८ गते । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका दुई वटा सहकारी संस्था ‘मर्ज’ भएका छन् । टाँडीमा अवस्थित कामना बचत तथा ऋण सहकारी संस्था र अविरल बहुउद्देश्यीय सहकारी संस्थाबिच मर्ज भएको हो ।

कामना र अविरल एकीकरण भई ‘कामना अविरल बचत तथा ऋण सहकारी संस्था’ नामकरण गरिएको छ । सहकारी संस्था एकीकरणका लागि दुई सहकारी संस्थाबिच २२ बुँदे लिखित सहमति गरिएको थियो ।

२०६५ सालमा स्थापना भएको कामना बचत तथा ऋण सहकारी संस्थामा छ हजार ४३६ र २०७७ साल अविरल बहुउद्देश्यीय सहकारी संस्थामा ९४० जना सेयर सदस्य थिए । दुई संस्था एकीकरण हुँदा सेयर सदस्यको सङ्ख्या सात हजार ३७६ र सेयर पुँजी सात करोड ३८ लाख ४१ हजार पुगेको छ ।

संस्था एकीकरण भएपछि कुल सम्पत्ति ५४ करोड ४३ लाख ८८ हजार, बचत सङ्कलन ४१ करोड ७९ लाख ८९ हजार, ऋण लगानी ४० करोड ३० लाख ७० हजार र जगेडा तथा अन्य कोषमा तीन करोड ५५ लाख ४० हजार रुपियाँ रहेको कामनाका व्यवस्थापक ओमप्रकाश गुप्ताले जानकारी दिनुभयो ।

घोषणा सभामा कामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपकचन्द्र शर्माले दुई सहकारी एक हुँदा वित्तीय सुदृढता, ब्याजदरमा स्थिरता, उच्च प्रतिफल, सदस्यको सुविधा वृद्धि, क्षेत्रीय र राष्ट्रियस्तरमा योगदान गर्न सकिने बताउनुभयो । 

सहकारी संस्था एकीकरणपछि ठुला परियोजनासाथै कृषि, उद्योग र शिक्षामा महत्वपूर्ण योगदान हुँदा देशको समग्र आर्थिक विकासमा सहकारीको भूमिका अझ सशक्त बनाउन सकिने अध्यक्ष शर्माको भनाइ छ ।

कामना र अविरल एकीकरण गरी तत्कालका लागि ज्ञानबहादुर बिसुराल अध्यक्ष रहेको तदर्थ सञ्चालक समिति गठन गरिएको छ । सहकारी एकीकरण घोषणा सभामा तदर्थ सञ्चालक समितिसमेत घोषणा गरिएको हो । 

छ महिनापछि संस्थाको विशेष अधिवेशन गरी सञ्चालक समिति निर्माण गर्ने सहमति गरी तदर्थ सञ्चालक समिति बनाइएको हो ।