• १८ माघ २०८१, शुक्रबार

कर्णालीमा एक लाखलाई पाठेघरको क्यान्सरविरुद्ध खोप

blog

छिन्चु समाचारदाता

सुर्खेत, माघ १७ गते । कर्णाली प्रदेशका एक लाखभन्दा बढी किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार कर्णालीका १० जिल्लाका एक लाख २९ हजार किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो । 

उक्त खोप अभियान आगामी २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुने छ । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन लागिएको हो । 

सूचना अधिकारी कँडेलका अनुसार खोप अभियान अन्तर्गत मुगुका चार हजार ३७९ किशोरीलाई एचपिभी खोप लगाइने छ । यस्तै डोल्पा दुई हजार ६४१, हुम्लाका तीन हजार ७३६, जुम्लाका आठ हजार ८२९, कालीकोटका ११ हजार ९२३, रुकुमपश्चिमका १२ हजार १०६, सल्यानका १४ हजार ५१३, सुर्खेतका २८ हजार ३४०, जाजरकोटका १५ हजार ५९२ र दैलेखका १८ हजार ९१ जना किशोरीलाई पाठेघरमा हुने क्यान्सर रोगविरुद्धको खोप लगाउन लागिएको हो । 

जाजरकोटमा पन्ध्र हजार 

जाजरकोट समाचारदाताका अनुसार जाजरकोटका १५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने भएको छ । राष्ट्रिय खोप अभियान–२०८१ अन्तर्गत जाजरकोटका १५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने तयारी गरिएको हो ।

सात वटा स्थानीय तह र ७७ वटा वडा रहेको जाजरकोट जिल्लामा यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका खोप फोकलपर्सन शान्तबहादुर बुढाथोकी ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १३ हजार २६५  जना र विद्यालयभन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ७३५ जना गरी जम्मा १५ हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरी नगरपालिकामा माघ २२ गते, नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा माघ २३ गते, बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा माघ २५ गते, छेडागाड नगरपालिका र कुसे गाउँपालिकामा माघ २७ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । 

जिल्लाका सबै पालिका र वडामा खोप अभियान सञ्चालन गर्न १३० जना स्वास्थ्यकर्मी र ५३२ जना स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको खोप फोकलपर्सन बुढाथोकीले बताउनुभयो ।