• १९ असार २०८१, बुधबार

शुक्रबार प्रदेश सरकारले प्रि–बजेट प्रस्तुत गर्ने

blog

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ १३ गते ।  बागमती प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।

प्रदेश सभाका सचिव कृष्णहरि खड्काले कार्य व्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा प्रि–बजेट प्रस्तुत गरी छलफल अगाडि बढाउने निर्णय भएको जानकारी दिनुभयो । यसका साथै प्रदेश सभाको १०औँ अधिवेशनको पहिलो दिन शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा नै प्रदेश सरकारले यसअघि जारी गरेको पाँचवटा विधेयक पेस गर्ने कार्यसूची तय गरिएको छ । 

स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालन गर्न बनेको अध्यादेश, प्रदेश निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवा सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई पहिलो संशोधन गर्न बनेको अध्यादेश प्रदेश सभामा पेस गरिने भएको हो ।यस्तै विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश र प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश सभाको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।