• ११ वैशाख २०८२, बिहिबार

स्वास्थ्य जाँच रिपोर्ट अब क्युआर कोडबाटै

blog

भरतपुर अस्पतालमा निर्माण हुँदै गरेको ट्रमा सेन्टर ।

चितवन समाचारदात

चितवन, माघ १७ गते । अब स्वास्थ्य जाँच रिपोर्ट लिन अस्पतालमा धाउन नपर्ने भएको छ । भरतपुर अस्पतालमा बिरामीले ल्याब परीक्षणका लागि दिएको रिपोर्ट अब क्युआर कोडमै पाउने व्यवस्था मिलाइएको छ ।

“आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको छ,” भरतपुर अस्पतालका इन्जिनियर चन्द्रमणि बस्यालले जानकारी दिनुभयो । नमुना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने छन् । क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको ट्रायल सफल भएपछि अब बिरामीले प्रयोग गर्न सक्ने इन्जिनियर बस्यालले बताउनुभयो ।  

दुई दिनको ट्रायल सफल भएपछि सेटिङ मिलाएर राखिएको छ । मेसिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले बताउनुभयो । अस्पतालले यो मेसिन करिब सात लाख रुपियाँमा खरिद गरेको हो । अर्काे एउटा मेसिन पनि थप खरिद गर्ने योजना रहेको छ ।  रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै ल्याब रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने विश्वास लिइएको छ ।

“ल्याबमा नमुना सङ्कलन गर्दा बिलसँगै हामीले क्युआर कोड दिन्छौँ । रिपोर्ट तयार हुन लाग्ने समयपछि मेसिनमा गएर क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न मिल्छ, त्यसलाई प्रिन्ट गरेर लिन पनि सकिन्छ,” उहाँले भन्नुभयो । 

उक्त मेसिनलाई टिकट काउन्टर अगाडि राखिएको छ । मोबाइल प्रयोगकर्ताले क्युआर कोड मोबाइलमै स्क्यान गरेर पनि रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने छ । “मोबाइलमा क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न सकिन्छ । त्यसलाई डाउनलोड गरेर सुरक्षित गरेर आफूलाई आवश्यकता अनुसार प्रिन्ट गर्न सकिन्छ,” बस्यालले भन्नुभयो, “एक जनाले एक पटक मात्रै रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने छन् । कुनै बिरामीको धेरै वटा रिपोर्ट आउनुपर्नेमा तीन वटा मात्रै देखियो भने त्यसलाई प्रिन्ट गरेर लिन सकिन्छ । निश्चित समयपछि अर्काे पटकमा बाँकी रिपोर्ट पुनः प्रिन्ट गर्न सकिन्छ ।” 

भरतपुर केन्द्रीय अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले ओपिडी टिकट काट्ने गरेका छन् । ओपिडी काउन्टर १० वटाभन्दा धेरै सञ्चालनमा छन् । बिरामीको चापलाई हेरेर काउन्टर वृद्धि गर्दै लगिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताउनुभयो । अस्पतालको थप सेवाका लागि चार वटा भवन निर्माण हुँदै गरेको उहाँले बताउनुभयो । अस्पतालमा ट्रमा सेन्टर, सरुवा रोग नियन्त्रण भवन, क्याथ ल्याब र नर्सिङ कलेज निर्माणको व्रmममा रहेको उहाँले जानकारी दिनुभयो ।