• ३ असार २०८१, सोमबार

गेटा मेडिकल कलेज सञ्चालन गर्न स्थानीयको माग

blog

अविनाश चौधरी

धनगढी, जेठ १३ गते । कैलालीको गोदावरीवासीले गेटा मेडिकल कलेज सञ्चालनको माग गरेका छन् । गोदावरी नगरपालिकास्थित गेटामा आवश्यक भौतिक पूर्वाधार गत वर्ष नै निर्माण भए पनि कलेज सञ्चालनमा आउन सकेको छैन । 

आर्थिक वर्ष २०७८/७९ बाट मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यका साथ पूर्वाधार तयार पारिएको थियो तर मेडिकल कलेज सञ्चालनको प्रारूप तयार नहुँदा अहिलेसम्म सञ्चालन हुन सकेको छैन । 

आवश्यक संरचना तयार भइसकेकाले सरकारले स्वायत्ततासहितको मेडिकल विश्वविद्यालयका रूपमा सञ्चालन गर्नुपर्ने भन्दै नागरिक स्तरबाट आवाज उठेको छ । गेटा मेडिकल सञ्चालनको मागसहित नागरिक दबाब समूहले सङ्घर्षका कार्यक्रम अगाडि बढाएको छ । 

नागरिक दबाब समूहका रविनकान्त पन्तले आर्थिक वर्ष २०७९/८० बाट चिकित्सा सेवा सञ्चालन गर्न र बजेटको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्वायत्ततासहितको मेडिकल विश्वविद्यालयका रूपमा गेटा कलेज सञ्चालन गर्न र त्यसका लागि बजेट व्यवस्था गर्नुपर्ने हाम्रो माग हो । त्यसका लागि गैरराजनीतिक सङ्घर्षका कार्यक्रम अगाडि सारेका छौँ ।”

नागरिक दबाब समूहले गेटा मेडिकल कलेज सञ्चालनको मागसहित बिहीबार धनगढीमा हस्ताक्षरसमेत सङ्कलन गरेको छ । सो समूहले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्रसमेत पठाएको छ । २०६६ सालमा निर्माण घोषणा गरिएको गेटा मेडिकल कलेजका लागि प्रशासनिक भवन निर्माण कार्य २०७३ बाट सुरु गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ बाट कलेज सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण थालिए पनि पूर्वाधार निर्माणमा ढिलाइ भएको थियो । यद्यपि, एक वर्ष ढिला गरी आर्थिक वर्ष २०७८/७९ बाट कलेज सञ्चालन गर्ने लक्ष्य लिइएको थियो तर यस आर्थिक वर्षमा पनि सो लक्ष्य पूरा हुन सकेन । आवश्यक संरचना बने पनि सञ्चालनका लागि प्रारूप र कानुन बनेको छैन । प्रारूप र ऐन, कानुन नबन्दा मेकिडल कलेज सञ्चालन अन्योल रहेको छ । 

सरकारले मेडिकल कलेज सञ्चालनको मोडालिटी टुङ्गो नलगाए पनि यस प्रदेशका बासिन्दाले विश्वविद्यालय वा प्रतिष्ठानका रूपमा गेटा मेडिकल कलेजलाई सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् । गेटा मेडिकल कलेजको आवश्यक संरचना निर्माणमा हालसम्म करिब साढे चार अर्ब रुपियाँ खर्च भइसकेको जनाइएको छ । 

यो मेडिकल कलेज सञ्चालनले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउने नागरिकको अपेक्षा छ । गेटास्थित ५१.८ हेक्टर क्षेत्रफलमा मेडिकल कलेज, अस्पताल सञ्चालनका लागि आवश्यक २९ वटा भवनहरू तयार भइसकेका छन् । गतवर्ष नै तयार भएको आवश्यक संरचना एक वर्षदेखि प्रयोगविहीन रहेको छ ।