बिन्दु थापा
पाल्पा, माघ १६ गते । प्रेम दिवसको दिन तानसेनको मखन टोलमा खाना महोत्सव हुने भएको छ । मखन टोल टोल विकास संस्था तानसेन ४ पाल्पाले तानसेन बजारको आर्थिक चलायमान गराउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रणय दिवसका दिन खाना महोत्सव गर्न लागेको संस्थाका अध्यक्ष ज्ञानु कार्किले बताउनुभयो ।
स्थानीय कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिने खाना महोत्सव सडकमै खाउँ, सडकमै रमाउँ भन्ने नारा सहित खानाका परिकारहरूको स्टल रहने कार्किले जानकारी गराउनुभयो ।
कार्यक्रमा वडा नं. ४ का वडाध्यक्ष हेमन्त राज शाक्यले खाना महोत्सव प्रवर्द्धनका लागि वडाले २ लाख रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले महोत्सवमा महिलाहरुले उत्पादन गरेको कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरु पनि विक्री वितरण गरिने जानकारी दिनुभयो । वडा अध्यक्ष शाक्यले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्नुका साथै समग्र जिल्लामै पर्यटन प्रवर्द्धन हुने विस्वास लिएको बताउनुभयो ।
महोत्सवमा विभिन्न जातजातिको पहिचान झल्कने भेषभुषा, सास्कृतिक कार्यक्रम, स्थानीय लाखे नाच, स्थानीय धिमे बाजा, भजन र कला केन्द्रहरुको प्रस्तुती तथा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा ६० वटा स्टलहरु भाडामा उपलब्ध हुने छ । प्रति स्टल होटल तथा रेष्टुरेण्टलाई २ हजार, व्यक्तिगत तथा सामुहिक स्टललाई १ हजार ५ सय, तरकारी तथा फलफूललाई १ हजार र महिलाद्धारा उत्पादित वस्तुलाई २ सय रुपियाँ लिइने आयोजक जानकारी दिएको छ ।