• १७ माघ २०८१, बिहिबार

क्याम्पसको पूर्वाधार निर्माण तयारी

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ १६ गते । कर्णाली प्रदेश सरकारले शैक्षिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । यो वर्ष बजेटको स्रोत सुनिश्चित गरेर पूर्वाधार निर्माण थालेको हो । दर्जनभन्दा बढी क्याम्पसको पूर्वाधार निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ ।

गत वर्षमा बजेटको स्रोत सुनिश्चित नगरेर पूर्वाधार निर्माणका काम थाल्दा शैक्षिक भवन अलपत्र हुने गरेका थिए । यो वर्ष बजेटको स्रोत सुनिश्चित गरेर मात्र पूर्वाधार निर्माण गर्ने सरकारको नीति अनुरूप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । दर्जनभन्दा बढी क्याम्पसका भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेर काम सुरु गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । सुर्खेतका विभिन्न पालिकामा शैक्षिक पूर्वाधार निर्माणको काम सुरु गरिएको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताउनुभयो । उहाँका अनुसार ठाउँ ठाउँमा क्याम्पसको पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।

पूर्वी सुर्खेतको रामघाटमा रहेको कृषि क्याम्पसको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । उहाँका अनुसार भवन निर्माणको काम धमाधम अघि बढेको छ । भवन निर्माणका लागि माउन्टेन शिवालिका कन्स्ट्रक्सन वीरेन्द्रनगर र शिक्षा विकास निर्देशनालय सुर्खेतसँग ६१ लाखमा ठेक्का सम्झौता गरिएको छ । २०८१ पुस २१ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८२ जेठ ३० गतेसम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । प्रदेशका विभिन्न जिल्लामा शैक्षिक पूर्वाधार निर्माणको काम थालिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसको भवन निर्माणको काम सुरु गरिएको छ । भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेर निर्माणको काम सुरु गरेको निर्देशनालयले जनाएको छ । उक्त भवन निर्माणका लागि डेढ करोड बजेटको स्रोत सुनिश्चित गरिएको हो ।

पश्चिम सुर्खेतमा रहेको विद्यापुर क्याम्पसको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । भवन निर्माणका लागि ५० लाख बजेटको स्रोत सुनिश्चित भएको निर्देशनालयले जनाएको छ । यसै गरी पूर्वी सुर्खेतमा रहेको गुर्भाकोट क्याम्पसको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । ५० लाख बजेटको स्रोत सुनिश्चित गरिएको हो । २०८१ पुस २४ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८२ जेठ १५ गते काम सम्पन्न गर्नुपर्ने छ ।

क्याम्पसका साथै विभिन्न पालिकामा विद्यालय भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । प्रदेश सरकारले यो वर्ष शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । जस अन्तर्गत आवश्यकताका आधारमा छनोट गरेर धमाधम पूर्वाधार निर्माणको काम थालिएको हो ।