गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १६ गते । सभामुख देवराज घिमिरेले सरकारको अस्थिरताले पनि संसद्को कामकारबाहीलाई प्रभावित पार्ने बताउनुभएको छ । गोरखापत्रसँग कुरा गर्दै सभामुख घिमिरेले संसद्लाई गतिशील बनाउनका लागि पनि सरकार स्थिर हुनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “कानुन निर्माणका सन्दर्भमा संसद्ले गर्नुपर्ने कार्यमा विलम्ब हुनुको कारक सरकारको अस्थिरता पनि हो । अघिल्लो अधिवेशनमा नीति र कार्यक्रम एउटा सरकारले ल्यायो । बजेट अर्को सरकारले ल्यायो । त्यही नीतिभित्र ल्याउने कि अर्को नीति तथा कार्यव्रmम ल्याउनेभन्दा भ्याउने अवस्था रहेन । त्यसकारण सरकारको अस्थिरताले पनि संसद् प्रभावित भएको छ ।” सभामुख घिमिरेले संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने बताउँदै आगामी संसद् अधिवेशनमा सरकार र राजनीतिक दलले संसद्लाई गतिशील र प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर गर्ने सवालमा एउटै पनि सरकारले जिम्मेवारी प्रस्तुत गर्ने र सांसदले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीको अभाव नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले संसद्मा उठाएका विषयप्रति जवाफदेही बन्नु पर्छ । रेस्पोन्स गर्नु पर्छ । नागरिकका आवश्यकतालाई ध्यानमा राखेर कति गर्न सकिन्छ, तत्कालीन र दीर्घकालीन विषयलाई त्यही अनुसार हेरेर कार्यान्वयन गर्नु पर्छ ।”
विधेयक पारित गर्न समन्वय
सभामुख घिमिरेले समितिसँग समन्वय गरेर विधेयक अधिवेशनलाई प्रभावकारी बनाउने सन्दर्भमा आफ्नो दायित्व पूरा गर्न सांसदहरू जिम्मेवार भएमा कानुन निर्माण कार्य प्रभावकारी रूपमा अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्राविधिक कुरा सहायक हुन् । सांसदहरू जिम्मेवार बन्नु पर्छ भन्ने कुरामा जोड दिइएको छ । मन्त्रीको उपस्थिति नहुने अथवा बैठकका लागि उपयुक्त वातावरण भएन भन्ने कुरा सहायक हुन् । मुख्य कुरा चाहिँ आएका विधेयकलाई पारित गर्नु पर्छ भन्ने हो ।” उहाँले संसद्लाई गतिशील बनाएर टेबुल भएका विधेयक पारित गर्नुपर्ने बताउँदै सरकार पक्षले छिटो पारित गर्ने र प्रतिपक्षले रोक्ने प्रयास गर्न नहुनेमा जोड दिनुभयो । उहाँले विधेयक पारित गरेर जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
सत्तापक्ष र प्रतिपक्षसँग छलफल
सभामुख घिमिरेले कार्यव्यवस्था समितिको मङ्गलबारको बैठकमा सांसदहरूका सल्लाह सुझाव प्राप्त गरेपछि यो महिनाको तालिका बनाएको जानकारी दिनुभयो । उहाँले सत्तापक्षसँगै प्रतिपक्षसँग पनि संवाद भइरहेकाले संसद्लाई प्रभावकारी बनाउने र तत्काल बनाउनुपर्ने कानुनलाई प्राथमिकताका साथ निर्माण गर्ने कार्य अघि बढ्ने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “आगामी संसद् अधिवेशन प्रभावकारी ढङ्गबाटै अघि बढाउने पक्षमा सत्तापक्ष रहेको र प्रतिपक्षको भूमिका रचनात्मक रहने अपेक्षा गरिएको छ । यति भएमा संसद्का कामकारबाही अत्यन्त प्रभावकारी ढङ्गले अघि बढ्ने छन् ।