• १३ साउन २०८१, आइतबार

मूल्यवृद्धि नियन्त्रण गर्न आग्रह

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १३ गते । राष्ट्रिय सभामा नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आर्थिक वर्ष २०७८/८० को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि त्यसमा छलफल सुरु भएको हो । 

छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले मूल्यवृद्धि हुँदा आमनागरिक मारमा परेको भन्दै बजेटमा राहत र मूल्यवृद्धि नियन्त्रणलाई समेट्न आग्रह गर्नुभयो । सांसद कमला पन्तले बजेटमा जनतालाई राहत हुने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले खेतीपातीको मौसम आइरहेका बेला रासायनिक मलको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो । 

सांसद उर्मिला अर्यालले मूल्यवृद्धि नियन्त्रणका लागि ठोस नीति तथा कार्यक्रम आवश्यक भएकोमा जोड दिँदै सो कुरालाई आगामी वर्षको बजेटमा सम्बोधन गर्न समेत सरकारलाई सुझाव दिनुभयो । संशोधन प्रस्तावसहित बोल्दै सांसद भैरवसुन्दर श्रेष्ठले नीति तथा कार्यक्रममा नेपालको सीमाका समस्याका विषयमा सम्बोधन नभएको टिप्पणी गर्नुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनालाई नेपालकै लगानीमा सम्पन्न गर्ने भनिए पनि त्यसको आवश्यक बजेटको व्यवस्था हुन नसकेको बताउनुभयो । 

सांसद बेदुराम भुसालले यो नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य र विकास निर्माणका कार्यक्रमलाई निकै राम्रोसँग सम्बोधन गरेको भन्दै प्रशंसा गर्नुभयो । सांसद हरिराम चौधरीले सुदूरपश्चिमदेखि दाङसम्म बसोबास गर्ने थारू समुदायलाई लाग्ने सिकलसेल एनिमियाको अनुसन्धानका लागि अनुसन्धान केन्द्र बनाउनुपर्ने विषय नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै बजेटमा समेट्न सुझाव दिनुभएको छ । सांसद मोहम्मद खालिदले विपन्न र दलितलाई मात्रै आवासको कार्यक्रम समेटिएको भन्दै मुस्लिम समुदाय पनि आवासविहीन भएकाले यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।