• ८ असार २०८१, शनिबार

दैलेखमा जिसस गठन कुनै दलको पनि पुगेन बहुमत

blog

दैलेख समाचारदाता

दैलेख, जेठ १२ गते । जिल्ला समन्वय समिति गठनका लागि दैलेखमा कुनै पनि दलको एकल बहुमत नपुग्ने भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा दुई नगरपालिकाका प्रमुख/उपप्रमुख, दुई गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा एउटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी कुल १० वटा प्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।

नेपाली कांग्रेसले एउटा नगरपालिका प्रमुख/उपप्रमुख, दुईवटा गाउँपालिका प्रमुख/उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षमा गरी नौवटा पदमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) दुई गाउँपालिका उपाध्यक्ष र एकीकृत समाजवादी पार्टी एउटा पालिका उपाध्यक्षमा विजयी भएको छ ।

नेपाली कांग्रेसले पाँच स्थानीय तहमा नौ पालिका प्रमुख/उपप्रमुख र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १० वटा प्रमुख/उपप्रमुख जितेको भए पनि दुवै दललाई जिल्ला समन्वय समिति गठन गर्न बहुमत नपुग्ने भएपछि जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेकपा माओवादी (केन्द्र) निर्णायक भूमिकामा हुने देखिएको छ । जिल्ला समन्वय समितिका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसको एकल बहुमत नदेखिएकाले नेकपा (माओवादी केन्द्र)ले कसरी र कसलाई समर्थन गर्छ भन्ने विषयले प्रभाव पार्ने देखिएको छ । पाँचदलीय गठबन्धनको निर्णयविपरीत नेकपा (एकीकृत समाजवादी)संँग छुट्टै गठबन्धन गरेर निर्वाचन जितेको नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँग सहकार्य नगर्ने सम्भावना बढ्दै गएको छ ।

नेकपा (माओवादी केन्द्र) दैलेखका संयोजक प्रेम कटुवालले जिल्ला समन्वय समितिको नेतृत्वका लागि सकेसम्म गठबन्धनका दलहरूबीच सहमति गरेर टुङ्ग्याउने विषयमा आफूहरू तयार रहेको बताउनुभयो । उहाँले कांग्रेसले माओवादीले प्रमुख जितेका स्थानमा सहयोग गर्ने वातावरण तयार गरेपछि समन्वयमा नेतृत्व टुङ्ग्याउन सहज हुने जनाउनुभयो । भगवतीमाई र नौमूलेमा कांग्रेसले हामीलाई सरकार सञ्चालनका लागि सहयोग गरे जिल्ला समन्वयको नेतृत्व गठबन्धनबाटै टुङ्गिन सक्ने दाबी उहाँको छ ।

नेकपा (एकीकृत समाजवादी)का नेता जङ्गबहादुर शाहीले जिल्ला समन्वय समितिका लागि नेपाली कांग्रेससँग गठबन्धन हुने सम्भावना कम भएको बताउनुभयो । उहाँले कांग्रेसले स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गरेको बताउँदै नेकपा (एमाले)सँग सहकार्य गरेर अगाडि बढ्ने सम्भावना रहेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले गठबन्धनका दलहरूबीच जिल्ला समन्वय समितिको नेतृत्व बाँडफाँट हुने बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)ले प्रमुख जितेका पालिकाहरूमा स्थानीय सरकार सञ्चालनका लागि कार्यपालिकामा कांग्रेसले सहयोग गर्नेमा छलफल भइरहेको बताउनुभयो । नेकपा (एमाले) दैलेखका उपाध्यक्ष प्रेमबहादुर बुढाले समन्वयको नेतृत्वका लागि अहिलेसम्म कसैसँग कुनै छलफल नभएको बताउँदै  समन्वय प्रमुख वा उपप्रमुख दिएर जान सकिनेमा एमाले तयार रहेको उल्लेख गर्नुभयो ।