लीलाधर वली
घोराही, माघ १० गते । दाङमा ३९ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाइने भएको हो ।
दाङमा विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँच जना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना गरेर ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिनुभएको छ ।
प्रमुख आचार्यका अनुसार तीन सय ९१ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ४७ वटा खोप केन्द्र तोकिएको छ । जसमा चार सय ३५ वटा विद्यालयमा र १२ वटा विद्यालय बाहिर खोप केन्द्र छन् ।
कार्यालय प्रमुख आचार्यका अनुसार घोराहीमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ११ हजार नौ सय ५२ जना र विद्यालय बाहिर रहेका सात सय २६ जना गरेर १२ हजार छ सय ७८ जना, बङ्गलाचुली गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ८१ जना र विद्यालय बाहिर रहेका २१ जना गरेर एक हजार तीन सय दुई जना किशोरीलाई खोप लगाइनेछ ।
तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दश हजार पाँच सय ९९ जना र विद्यालय बाहिर रहेका आठ सय ४३ गरेर ११ चार सय ४२ जना, शान्तिनगर गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार चार सय ४४ जना र विद्यालय बाहिरका ६६ जना गरेर एक हजार पाँच सय दश जना, बबई गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार सात सय ८१ जना र विद्यालय बाहिरका ५४ जना गरेर एक हजार आठ सय ३५ जना, दंगीशरण गाउँपालिकामा विद्यालयमा अध्ययनरत नौ सय ५१ जना र विद्यालय बाहिर रहेका एक सय ४० जना गरेर एक हजार ९१ जना, लमही नगरपालिकामा विद्यालयमा अध्ययनरत तीन हजार दुई सय १४ जना र विद्यालय बाहिर रहेका एक सय १८ जना गरेर तीन हजार तीन सय ३२ जनालाई खोप लगाइनेछ ।
राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार सात सय १६ जना र विद्यालय बाहिर रहेका ९६ जना गरेर दुई हजार आठ सय १२ जना, गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार ३२ जना र विद्यालय बाहिर रहेका ५४ जना गरेर दुई हजार ८६ जना र राजपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ३५ जना र विद्यालय बाहिर रहेका एक सय २७ जना गरेर एक हजार तीन सय ६२ जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले बताउनुभयो ।
खोप माघको २२ गतेदेखि फागुनको ६ गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने उहाँले बताउनुभयो । त्यसका लागि जिल्लामा ४१ खोप आइसकेको रहेको अहिले खोप लगाउनका लागि पालिका तहमा स्वास्थ्यकर्मीलाई जानकारीसँगै तालिम दिने काम भइरहेको प्रमुख आचार्यले बताउनुभयो ।