• २२ चैत २०८२, आइतबार

नियम मिचेर क्रसर उद्योग सञ्चालन

blog

बबई समाचारदाता

बबई (बर्दिया), चैत २२ गते । बर्दियाका क्रसर उद्योग नियम मिचेर सञ्चालन हुँदै आएको पाइएको छ । बर्दियामा सञ्चालनरत सात क्रसर उद्योगमध्ये चार वटा सरकारले तोकेको मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । बर्दियाको मधुवन नगरपालिका–९ मा रहेको नुरी स्टोन इन्डस्ट्रिज, बारबर्दिया–२ मा रहेको लक्ष्मी बालुवा प्रशोधन उद्योग र ठाकुरबाबामा रहेको बर्दिया बालुवा प्रशोधित उद्योग नियमविपरीत सञ्चालन भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा छ । 

नुरी स्टोन इन्डस्ट्रिज २०७७ साउनदेखि नवीकरणबिना नै सञ्चालन भइरहेको छ । कतिपय क्रसर सञ्चालकले बालुवा प्रशोधन केन्द्रका नाममा क्रसर उद्योग नै सञ्चालन गरेर नदीजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेका छन् । वाणिज्य विभागमा दर्ता स्रेस्ता कायम रहेको भन्दै केही क्रसर उद्योग डिभिजन वन कार्यालय र स्थानीय तहलाई समेत जानकारी नदिई सञ्चालन भइरहेका छन् ।

सरकारले २०७७ र २०८० मा क्रसर सञ्चालनसम्बधी मापदण्ड बनाए पनि सबै क्रसरले मापदण्ड पूरा नगरेका कारण नवीकरण नभएको हो । बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्ना पाण्डेले क्रसर उद्योग स्थानीय तहसँग उत्तरदायी नभएको बताउनुभयो । मधुवन नगरपालिका–९ मा सञ्चालन गरिएको नुरी स्टोन इन्डस्ट्रिज २०७७ साउनदेखि नवीकरणबिना नै सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख इन्द्रराज खत्रीले बताउनुभयो ।

वनक्षेत्रबाट एक किलोमिटर र विद्यालय क्षेत्रबाट पाँच सय मिटर दुरी हुनुपर्ने भए पनि नुरी क्रसर उद्योग बस्तीकै बिचमा सञ्चालित छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वाणिज्य विभागमा दर्ता कायम भए पनि डिभिजन वन कार्यालयसँग समन्वय गर्नुपर्ने र कानुनी दायर पूरा गर्नुपर्ने भए पनि क्रसर सञ्चालकले नगरेको बताउनुभयो । 

नदीजन्य पदार्थ उत्खनन र बिक्रीवितरण गर्ने क्रसर उद्योग अनुगमनका लागि जिल्ला तहमा जिल्ला समन्वय समितिका अध्यक्षको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र सम्बन्धित स्थानीय तह, अन्य सुरक्षा निकायसहितको अनुगमन टोली हुन्छ ।

जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष सूर्यबहादुर विष्टले अनुगमन टोलीले अनुगमनपछि कैफियत देखिए सम्बन्धित स्थानीय तहमा नै कारबाहीका लागी पठाउनुपर्ने भएकाले क्रसर उद्योग सञ्चालक हाबी भएको बताउनुभयो । अनुगमनमा नपुग्दै राजनीतिक दलका नेताले फोन गर्ने गरेकोसमेत विष्टले बताउनुभयो । 

नुरी स्टोन इन्डस्ट्रिजका प्रोप्राइटर मोहम्मद नसिम हलवाईले यो समस्या २०७७ देखि देशभरि नै भएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बर्दियामा सञ्चालित क्रसरबारे बुझ्ने काम भइरहेको बताउनुभयो ।