• १० माघ २०८१, बिहिबार

गौतम दाजुभाइको सैलुन व्यवसाय, कमाइ मासिक लाख

blog

सैलुनमा ग्राहकको कपाल काट्दै यमकान्त गौतम । तस्बिर ः हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, माघ १० गते । सैलुनको कमाइबाट मात्र करोडौँ रुपियाँ भारत जाने गरेको छ तर सीपको सदुपयोग गर्दे मोरङका गौतम दाजुभाइले सैलुन स्थापना गरी मासिक एक लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । 

कतार, मलेसिया र दुबईमा झन्डै ११ वर्ष पसिना बगाएर नेपाल फर्किनुभएका झापाको दमक – ३ ताराबारीका ३७ वर्षीय यमकान्त गौतम ३ वर्षयता सैलुन सञ्चालन गरेर मासिक एक लाख रुपियाँ कमाइरहनुभएको छ । 

मोरङको उर्लाबारी –७ मा सञ्चालन भइरहेको सैलुनमा कपाल र दारी काटेको अन्यत्रभन्दा सस्तो छ । जाडोमा हिटर र गर्मीमा एसीसहितको सेवा दिइरहनुभएका गौतमलाई भ्याई नभ्याई बढेपछि पछिल्लो एक वर्षयता भाइले पनि साथ दिइरहनुभएको छ ।  

अन्य सैलुनभन्दा पचास रुपियाँ सस्तोमा कपाल काटिन्छ

जातले बाहुन । शिक्षासम्बन्धी काम गर्नुपर्ने हो । न बाबु बाजेले गरेको ,न आफ्नो समुदायले गरेको ।तर सीप बेचेर व्यवसाय गर्न गौतमलाई न जातले छेक्यो ,न उमेर नै बाधक बन्यो । पाखुरामा बल भइन्जेल उहाँले आफ्नो पसिना खाडीमा बगाउनुभयो । चालिस पुग्नै लाग्दा उहाँले नेपाल फर्केर आफ्नै व्यवसाय सुरु गर्नुभयो । नेपालीमा एउटा गीत छ, ‘ सुन साइँली चालिस कटेसि रमाउँला’ । औसत नेपालीको दिनचर्या नै चालिस कटेपछि मात्र माटो प्रति माया जाग्ने गौतमको बुझाइ छ ।

सुरुका दिनमा यमकान्तले कपाल काट्ने काम गरेर कमाई होला भन्ने कल्पनासम्म गर्नुभएको थिएन । ११ वर्ष विदेश बसेर दुई चार पैसा कमाइ त भयो । तर, सधैँ पराई । चाडपर्व,आफन्त सबै बिर्सिनुपर्ने । त्यसैले उहाँ स्वदेश मै केही गर्नुपर्छ भन्ने निर्णयमा पुग्नुभयो । गौतमले कपाल काट्ने सीप कुनै प्रशिक्षण केन्द्रमा सिक्नुभएको होइन । विदेशमा साथीभाइको कपाल काट्दा काट्दै उहाँले कैँची,छुरा र काइँयो चलाउन सिक्नुभयो । लामो समय एउटै काम गर्दागर्दै उहाँमा सैलुन चलाएर पनि गरिखान सक्छु भन्ने भोक जाग्यो । त्यसपछि उहाँले विदेश जाने योजना विसर्जन गरेर उर्लाबारीमा व्यवसाय सुरु गर्नुभयो । 

व्यवसाय सुरु गरेयता यमकान्तलाई ग्राहकको अभाव छैन ।गौतम दैनिक ४५-५० जनाको कपाल काट्नु हुन्छ । गौतम कुनै पनि ट्रेड युनियनमा आबद्ध हुनुहुन्न । त्यसैले सङ्घले राखेको दर भन्दा सस्तोमा सेवा दिइरहनुभएको छ । गौतमले भन्नुभयो – सैलुनलाई ‘हेन्डम पार्लर’को रूपमा सञ्चालन गरेको छु । झन्डै १२ लाख जति लगानी गरेर पार्लरको सजावट गरेँ । उहाँले भन्नुभयो–अन्य सैलुनमा पाउने सबै सेवा मैले पनि दिएको छु ।

उर्लाबारीका अरू सैलुनमा कपाल काटेको एक सय पचास रुपियाँ पर्छ । हामी सय रुपियाँमा काट्छौँ । दारी कटाइ पनि अन्यत्रभन्दा ३० रुपियाँ सस्तो छ । सुरुमा लगानी भयो । त्यसयता सीप बेचर कमाइ भइरहेको छ ,–गौतमले भन्नुभयो । 

ग्राहकको भीड बढेपछि गत वर्षदेखि यमकान्तले माइलो भाइ निरहरि गौतमलाई पनि काम सिकाउनुभयो । अहिले यमकान्त र निरहरि  बिहानदेखि साँझ अबेरसम्म सैलुनमै काम गर्नुहुन्छ । ग्राहकहरू पालोमा बसेर फर्किएको संस्मरण गर्दै उहाँले भन्नुभयो – अझै आठ दश वटा यस्ता सैलुन उर्लाबारीमा चल्छन् । युवा पुस्ता पैसा कमाउन खाडी जान्छन्, भारतीयहरू सैलुन चलाएर लाखौँ रुपियाँ आफ्नो देशमा लगिरहेका छन् । उहाँले काम गर्न सक्दा नेपालमा सम्भावना नै सम्भावना रहेको बताउनुभयो ।