गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १० गते । गायिका तारादेवीका चर्चित गीतको प्रस्तुतिसहित उहाँको सम्झनामा राजधानीमा सांस्कृतिक कार्यक्रम गरिएको छ । तारादेवी स्मृति फाउन्डेसनद्वारा बुधबार उहाँको १९ औँ स्मृति दिवसमा ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रमको आयोजना गरियो । नेपाली गीत/सङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायतका उपाधि पाउनुभएकी गायिका तारादेवीका शुभकामना भरी, उकाली ओरालीहरूमा, साँघुरी बारी नि हो, त्यो धारा पानी, कालीपारि दाइ कति राम्रो’ लगायतका चर्चित गीतले जीवन्त बनाएको छ ।
आठ वर्षको उमेरदेखि नै गाउन थाल्नुभएकी गायिका तारादेवीका सोचे जस्तो हुन्न जीवन, फूलको थुँगा बहेर गयो गङ्गाको पानीमा, बिदा हुने भैगयो बेला, लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमालगायतका थुप्रै कालजयी गीत छन् । विसं २००२ मा राजधानीको इन्द्रचोकमा जन्मनुभएको हो ।
उहाँले गीतकार चाँदनी शाह, माधवप्रसाद घिमिरेलगायत थुप्रै चर्चित रचनाकार र सङ्गीतकार नातिकाजीलगायतका व्यक्तित्वको सङ्गीत संयोजनमा आफ्नो जीवनकालभरिमा करिब चार हजार वटा गीत गाउनुभएको छ । गायिका लोचन भट्टराईले गायिका तारादेवीको निजी जीवन विविध कारणले निकै सङ्घर्षपूर्ण रहे पनि निरन्तर सङ्गीतको साधना र तपस्या नै गर्ने स्वभावलाई अन्य गायक/गायिकाले पनि सिक्नुपर्ने बताउनुभयो ।
उहाँले सितार बजाउँदै निरन्तर सङ्गीतको अभ्यास गर्ने गायिका तारादेवीको सानिध्यमा रहेर सङ्गीत साधनाको सिप सिक्ने अवसर पाएको अनुभव सुनाउँदै नेपाली सङ्गीत क्षेत्रको धरोहरको कृति, कर्मलाई अध्ययन, अनुसन्धानलाई समेत सहयोग पुग्ने गरी सङ्ग्रहालय खोल्न सुझाव दिनुभयो ।
गायिका तारादेवीको विसं २०६२ सालमा निधन भएपछि उहाँको साङ्गीतिक कृति, योगदान र यात्रालाई जीवन्त बनाउने लक्ष्यले ‘तारादेवी स्मृति फाउन्डेसन’ को स्थापना गरिएको छ । सो फाउन्डेसनको संरक्षक रवि श्रेष्ठ र अध्यक्ष दीपक केसी रहनुभएको छ ।
संरक्षक श्रेष्ठले आफ्नी आमा तारादेवीले नेपाली साङ्गीतिक क्षेत्रमा पुर्याउनुभएको योगदानलाई सम्झने, चर्चा गर्ने र यसै क्षेत्रमा संलग्न व्यक्तित्वलाई सम्मान गर्ने फाउन्डेसनको लक्ष्य रहेको बताउनुभयो । सो अवसरमा गीतकार/सङ्गीतकारहरू सिके रसाइली, तीर्थकुमारी थापालगायतलाई जनही २५ हजार रुपियाँसहित सम्मान गरिएको थियो ।