राममणि दाहाल
हेटौँडा, माघ ९ गते । बागमती प्रदेश सरकारले बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको छ । प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्न वनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरिएको हो ।
प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार प्रदेश सभाको आगामी अधिवेशनमा पेस गर्ने गरी ती संशाेधन विधेयकहरू प्रदेश सभामा दर्ता गरिएको हो । दर्ता भएका शंसोधन विधेयकमध्ये मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि पनि दर्ताका लागि पेस भएकोमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले फिर्ता पठाउनुभएको थियो ।
यसअघि नै दर्ताभएको संसोधन विधेयकमा संसोधनका लागि राखेका केही प्रावधानहरू अपुग भएको भन्दै सभामुख पाठकले प्रदेश सभामा दर्ता नगरी फिर्ता पठाउनुभएको हो । तर प्रदेश सरकारले अहिले पुनः उक्त विधेयक नसच्याई दर्ता गराएको छ ।
प्रदेश सभाका सचिवालयका प्रवक्ता गुप्ताले पुनः दर्ता भएको उक्त संसोधन विधेयक अब प्रदेश सभामा जाने र प्रदेश सभाको समितिमा छलफल भई समितिबाटै संसोधन हुने जानकारी दिनुभयो ।