• ९ माघ २०८१, बुधबार

नेपाललाई आइटीको हब बनाउनु पर्छ

blog

दुुई/चार शताब्दी हामी अलिकति पछाडि पर्‍यौँ । नाउ टाइम इज चेन्ज । अब पालो एसियाको, अब पालो हाम्रो, अब पालो नेपालको । नेपालले गर्न नसक्ने कुरा केही छैन । त्यसकारण अब नेपालले गर्न सक्छ र उपयुक्त समय आएको छ । यो समयलाई क्यास गर्न सक्नुु पर्छ । नेपाललाई दक्षिण एसियाको आइटी हब बनाउन सक्नुु पर्छ ।

आइटी उद्यमीसँग प्रधानमन्त्री (आइटी मिट अप विथ प्राइम मिनिस्टर) कार्यक्रम मेरा लागि अत्यन्तै लाभदायी भएको छ । मेरा लागि लाभदायक भएको कार्यक्रमलाई देशकै लागि, सबैका लागि लाभदायी बनाउनु पर्छ । यहाँहरूका लागि लाभदायी भयो भने मेरा लागि लाभदायी हुन्छ । मेरा लागि दुई वटा हिसाबले लाभदायी छ । एउटा, यहाँहरूका कुराले आगामी दिनमा के के गर्नुपर्ने रहेछ भन्ने कुरातर्फ ध्यानकर्षण गरेको छ । त्यसबाट लाभ भएको छ । अर्कातिर अब यहाँहरूको व्यवसाय अगाडि बढ्छ, त्यसबाट पनि लाभ भएको छ । 

यस सम्बन्धमा हामीले प्रयास र सोचहरू अलिक अगाडिदेखि नै थालेका हौँ । यो आइटी सताब्दीऔँ पुरानो चिज होइन । यो २० औँ शताब्दीको उपज हो र २० औँ शताब्दीको पनि सेकेन्ड हाफमा कम्प्युटर इन्जिनियरिङसँगै यसको विकास बढी तीव्रताका साथ भयो । मैले सन्दर्भमा भन्ने गर्छु, सन् १९२१ मा टेलिभिजन जस्ता कुरा देखाउन सक्छ कि भनेर वैज्ञानिक सोच्दै रहेछन् । त्यस्तो धेरैको दिमागमा आउँदो रहेछ । सन् १९६० को दशकमा हामी पनि रेडियो सुन्थ्यौँ । हामी कल्पना गर्दथ्यौँ, यो बोल्ने मान्छेको आवाज आउँछ भने चित्र पनि आउन सक्छ होला भनेर । त्यतिबेला हामीले थाहा नभएको रहेछ, त्यतिबेला ब्ल्याक एन्ड ह्वाइटबाट कलर टेलिभिजनको जन्म भइसकेको रहेछ तर हामी टेलिभिजनको कल्पना गर्दै थियौँ कि मान्छेको चित्र नै आउन सक्छ कि भनेर । हामी केटाकेटी र साना युवा कुरा गर्दा त्यसरी गर्दथ्यौँ । पछि हामीहरू पनि हुर्किंदै गयौँ र आइटी क्षेत्र पनि विश्वमा हुर्किंदै गएछ । म त जेल परेँ, धेरै थाहा पनि भएन । जब म जेलबाट छुटेँ, धेरै कुरा थाहा भयो ।

मेरो उद्देश्य सानैदेखि समाज परिवर्तनको थियो । समाज परिवर्तन भनेको राजनीतिक परिवर्तन मात्रै होइन । राजनीतिक परिवर्तन त माध्यम मात्रै हो, साधन मात्रै हो । राजनीतिक परिवर्तन भएपछि राम्रो सरकार बन्यो भने देशप्रति, जनताप्रति उत्तरदायी र विकासको आकाङ्क्षा भएको, त्यो सङ्कल्प र डेडिकेसन भएको सरकार बन्यो भने त्यसले विकास गर्छ । त्यसका लागि राजनीतिक प्रणालीमा विकास चाहिएको हो, त्यस कारण थियो । हामीले राजनीतिक प्रणालीका लागि लामो समय सङ्घर्ष गर्नु पर्‍यो, बलिदान दिनु पर्‍यो र दुःख भोग्नु पर्‍यो । अहिले राजनीतिक प्रणाली परिवर्तन भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हामी छौँ । 

हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र किन ल्यायौँभन्दा विकासका लागि ल्यायौँ, जनताका समस्या हटाउनका लागि, गरिबी हटाउनका लागि ल्यायौँ, समृद्धि प्राप्त गर्नका लागि ल्यायौँ, सुखको जिन्दगी नेपाली जनताले प्राप्त गरुन् भन्नका लागि ल्यायौँ । पहिले सङ्घर्ष गर्ने समय थियो । हामीले विकासका लागि व्यवस्था परिवर्तन गरेर अनुकूल वातावरण गर्नु थियो । अब हामीले काम सुरु गर्ने समय भयो । नेपालमा धेरै उतारचढाव भए । यद्यपि धेरै लामो समय होइन । हामीले अहिले परिवर्तन ल्याएको समय भनेको लगभग ३२/३४ वर्ष भयो तर यी ३२/३४ वर्षमा उतारचढाव भए । देशका लागि ३४ वर्ष लामो होइन तर विकासको गति जसरी तीव्रताका साथ अगाडि बढेको छ र दुनियाँ जस्तो तीव्र गतिमा अगाडि बढिरहेको छ, परिवर्तन भइरहेको छ, त्यस ठाउँमा साढे तीन दशकको अवधि खेर जानु भनेको सानो क्षति होइन, त्यो धेरै ठुलो क्षति हो । अब यो क्षति टोलरेन्स गरिरहन वा बेहोरिरहन सकिँदैन । अब यस क्षतिलाई मेकअप गरेर अगाडि बढ्नु पर्छ । अब अगाडि बढ्ने मात्रै होइन कि यी साढे तीन दशकका क्षतिलाई समेत मेकअप गरेर अगाडि बढ्नु पर्छ । 

पहिलो पटक म सन् १९९२ मा अमेरिका गएँ । त्यहाँ बिल क्लिन्टन राष्ट्रपतिको उम्मेदवार हुँदा चुनावको अनुगमनका लागि भिजिटर कार्यक्रम अन्तर्गत मलाई बोलाइएको थियो । त्यसमा जाँदा एउटा कम्पनीको मान्छेले हामी मोबाइल फोन बनाउन खोज्दै छौँ भनेर कलरेस टाइपको मोबाइल देखाउनुभयो र के भन्नुभयो भने अहिले यसले आफ्नो कम्पनीलाई सम्पर्क गर्छ, कम्पनीलाई भन्छ, कम्पनीले तपाईंको घरसम्म सम्पर्क गर्दिन्छ र घरबाट तपाईं सोझै यस फोनमा सम्पर्क गर्न सक्नुहुन्छ भनेर तर त्यो त्यहाँको सेटसँग मात्रै हो । यो सन् १९९२ को कुरा हो । सबैभन्दा विकसित त्यही थियो र सबैभन्दा विकसित हुन प्रयास गरिराखेको मोबाइल कम्पनी त्यही थियो । मैले त्यो कम्पनीको नाम बिर्सिएँ । त्यसपछि नभन्दै उधुम विकास भयो । यो तीव्र विकासको समय छ, यसमा विकास हुन्छ नै । 

हाम्रो पार्टीको नेतृत्वमा पहिलो पटक जब सरकार बन्यो सन् १९९४ मा र १९९५ सम्म चल्यो । त्यो सरकारको समयमा हामीले सामाजिक जीवनका विविध क्षेत्रमा, सरकारका विभिन्न पक्षमा कहाँ कहाँबाट क्याच गर्न सकिन्छ भनेर हेर्‍यौँ । त्यसरी हेर्दा, कम्प्युटर इन्जिनियरिङ, तत्सम्बन्धी पढाइ र सफ्टवेयर भारतले एडप्ट गरेको रहेछ र त्यसको काम पनि सन् १९९१ देखि थालिसकेको रहेछ । सन् १९९१ देखि उनीहरूले काम थाले, हामीहरूले लय समाउनै सकेनौँ । हाम्रोमा राजनीतिक परिवर्तनपछि काम गर्ने जमाना सुरु भयो भन्ने भन्दा पनि अलिक सत्ताको रापझाप जस्तो कुरा र सत्ता भनेको एउटा इन्जोय गर्ने ठाउँ प्राप्त गरियो भन्ने खालको परिस्थिति बढी भयो । काम गर्ने, विकास गर्ने ठाउँभन्दा पनि इन्जोय गर्ने ठाउँ प्राप्त गर्न हारालुछ गर्ने खालको स्थिति भयो । त्यसले गर्दा हामीले वाञ्छित सफलता प्राप्त गर्न सकेनौँ । तैपनि त्यस बेलादेखि यस क्षेत्रमा काम गर्नु पर्छ है भन्ने सोच बनायौँ । 

त्यसपछि यसमा रिभोलुसन ल्याउने गरी म पहिलो पटक प्रधानमन्त्री हुँदा विभिन्न खालका नयाँ सोच मैले अगाडि सारेँ । मेरो नेतृत्वको सरकारले विभिन्न कुरालाई अगाडि सार्‍यो । त्यतिबेला पनि हामी उतारचढावको अनेक सिलसिलामा थियौँ । संविधान भर्खर जारी गरेको स्थिति थियो । संविधान जारी गर्‍यौँ तर त्यससँग सम्बन्धित कानुन छैन । त्यस कानुनमा संशोधन र परिमार्जन नै गर्नुपर्ने कानुनको चाङ छ । के आवश्यकता हो भनेर सबैले बुझ्नुभन्दा पनि राजनीतिक नेतृत्वले बुझ्नु पर्छ र त्यो गाइड गर्नु पर्छ । त्यसपछि मात्रै खासमा काम हुन सक्छ । त्यसो भएर हामीले त्यो प्रयास पनि गर्‍यौँ र धेरै कानुन परिवर्तनका लागि हामीले अगाडि सार्‍यौँ र परिवर्तन गर्‍यौँ । संविधान मुस्किलले जारी गर्‍यौँ, जारी गर्ने बित्तिकै पाँच महिनासम्म नाकाबन्दी भयो । नेपाली समाज पानीबाट निकालेको माछा जस्तो भयो । हस्पिटलमा अक्सिजन छैन, ट्याब्लेट छैन, डाक्टर अस्पताल जान गाडीमा फ्युल छैन, औषधी किन्न पाइँदैन, फ्युल किन्न पाइँदैन । मान्छे भोकभोकै छ । हामीले आगो बाल्न दाउरालाई केजीका हिसाबले तराजुले तौलिएर काठमाडौँमा बेच्नु प¥यो । धेरै दाउरा दिन सक्ने स्थिति पनि छैन, त्यति धेरै काठमाडौँलाई पुग्ने कहाँबाट ल्याउने ? विद्युतीय चुलो त्यति छैन । विद्युत्को सप्लाइ गर्न उत्पादन नै थिएन, दुई सय मेघावाटको हारहारीमा थियो । त्यस स्थितिबाट अगाडि बढाउन हामीले मेजर गेम चेन्जिङ खालका कुरा अगाडि सार्नु पर्‍यो र त्यसरी हामीले अगाडि बढायौँ तर समय थोरै भयो । अलिकति हामीले नेपालको हितमा गेम चेन्जर खालको कुरा काम अगाडि बढाउन थालेको हुनाले त्यो एउटा भयावह स्थिति जस्तो धेरैलाई लाग्यो र सरकार ढल्यो । 

फेरि हामी चुनावबाट आएपछि करिब तीन वर्षको समय पायौँ तर सजिलोसँग काम गर्न पाइएन । यता खुट्टा तान्दै छ, यता अगाडि बढ्दै छ, खुट्टा तान्दै छ, अगाडि बढ्दै छ गरेर पनि हामीले केही कुरा गर्‍यौँ र डिजिटल नेपालको कन्सेप्ट ल्यायौँ । त्यसैबेला डिजिटल नेपालको कार्यान्वयनका लागि फ्रेमवर्क पनि बनायौँ । यी सबै कुराका दुई/तीन वटा पाटा थिए । तपाईंहरूले बिपी यो भन्नुहुन्छ, केपी यो भन्नुहुन्छ, नलेजसम्बन्धी, बिजनेससम्बन्धी अथवा अर्को सेक्टरसम्बन्धी । यसमा हरेकसँग पुग्ने एक्सेस र क्यापासिटी बढाउने, यो बिजनेसका लागि हो । यो विकासका लागि हो । यो सबैका लागि हो । आइटी फर अल, आइटी फर विजनेस, आइटी फर एजुकेसन, आइटी फर इन्फरमेसन । एआइको जमानामा भन्ने हो भने एआइ अथवा आइटी इज फर एभ्रिथिङ ! यस्तो भइसक्यो । यो बिना त हुँदै हुँदैन । कसैले मोबाइल घरमा छोडेर आएको छैन होला, मोबाइल साथमै हुन्छ । यस्तो भइसक्यो अरू चिज छुटेर केही हुँदैन, मोबाइल छुट्नु भएन । मोबाइल छुट्यो भने इन्फरमेसन छुटिहाल्छ । त्यस कारण यस्तो अप टु डेट रहनुपर्ने अवस्था दुनियाँको बनेको छ कि एकछिन छुट्यो भने के के भइसकेको हुन्छ, थाहा पाइएन, बर्बाद भइसकेको जस्तो हुन्छ, मैले त त्यो थाहा पाइनँ भनेर । त्यो सेकेन्ड ह्यान्ड थाहा पाइयो जस्तो हुन्छ । प्रत्यक्षदर्शी कोही हुँदैन, सेकेन्ड ह्यान्ड नै हो थाहा पाउने । 

यस सन्दर्भमा हामीले नेपालको विकास र नेपालीको विकास गर्ने मुख्य कुरा भनेको आइटीको दक्ष र सक्षम जनशक्ति हो । त्यसो भएर हामीले यी कुरालाई एकदम तीव्रताका साथ अगाडि बढाउनु छ । हाम्रा युवालाई दक्ष बनाउनु छ, सक्षम बनाउनु छ । युवामा रहेको, यहाँ केही गर्न सकिँदैन भन्ने चिन्ता जाहेर गर्नुभयो र त्यसमा अलिकति आशावादी जागेको कुरा गर्नुभयो, त्यो ठिक हो । मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि मुख्य कुरा आशा जगाउने काम, विकास हुन सक्छ, हाम्रै पालामा विकास हुन सक्छ, हामी गर्न सक्छौँ भनेर ।

मैले हाम्रा पूर्वजका कहानी सुनाउने गरेँ, हाम्रा पूर्वज यस्ता महान् थिए, यस्ता इनोभेटर थिए, यस्ता रिसर्चर थिए भनेर । ज्ञान यहाँ सुरु भयो र विस्तार भयो । गणित यहाँ सुरु भयो र विस्तार भयो । चिकित्सा शास्त्र यहाँ सुरु भयो र विस्तार भयो, खगोल शास्त्र यहाँ सुरु भयो र विस्तार भयो । ज्ञान भनेकै यहाँ सुरु भयो र विस्तार भयो । दुई/चार शताब्दी हामी अलिकति पछाडि पर्‍यौँ । नाउ टाइम इज चेन्ज । अब पालो एसियाको, अब पालो हाम्रो, अब पालो नेपालको । नेपालले गर्न नसक्ने कुरा केही छैन । त्यसकारण अब नेपालले गर्न सक्छ र उपयुक्त समय आएको छ । यो समयलाई, यो समयले हामीलाई उपलब्ध गराएको अवसरलाई हामीले क्यास गर्न सक्नु पर्छ, त्यसलाई प्रयोग गर्न सक्नु पर्छ र अगाडि बढ्न सक्नुु पर्छ । साथीहरूले ठिक भन्नुभयो कि हामीले नेपाललाई दक्षिण एसियाको आइटी हब बनाउन सक्नु पर्छ । 

हाम्रो उत्पादन हामीले बेच्न सक्नु पर्छ । हाम्रो उत्पादन हामीले जनताका घर घरमा पुर्‍याउन सक्नु पर्छ, उनीहरूको जीवनस्तर बढाउनका लागि त्यसलाई प्रयोग गर्नु पर्छ, उनीहरूको आयस्तर बढाउनका प्रयोग गर्नु पर्छ । उनीहरूलाई रोजगारीका अवसर बढाउनु पर्छ । सबै आइटी इन्जिनियर हुन सक्छन् भन्ने कुरा होइन । यहाँहरूको उत्पादनका लागि सरकार पनि एउटा आफैँ मार्केट हो भनेर यहाँहरूले अघि भन्नुभयो । सरकार आफैँले पनि प्रोडक्सन गर्छ । अहिलेसम्मको स्थिति के छ भने, हामीले सफ्टवेयर ऐरा झन्डै झन्डै गुमायौँ नै । भारतले जुन कुराको ठुलो फाइदा लियो, हामी देख्दादेख्दै पछाडि पर्‍यौँ । कृषिमा पनि भारतले सन् १९६५ देखि ६८ मा ग्रिन रिभोलुसन भनेर इन्टरड्युस गर्‍यो । उसले १९९८ मा ल्याइसकेको चिज हामी अहिले बल्ल २०२५ मा इन्टरड्युस गर्दै छौँ अथवा ल्याउँदै छौँ वा योभन्दा अगाडि हामीले प्रयास सुरु गरेका छौँ र अगाडि बढाउन खोज्दै छौँ । अर्थात् ३० वर्ष हामी यसै पछाडि परेका छौँ । यो त ३० भन्दा पनि ६० वर्ष भइसक्यो । ग्रिन रिभोलुसन हामीले ६० वर्षअगाडि गर्नु पर्दथ्यो तर ६० वर्षअगाडि राणा शासनबाट भर्खर उम्किएका थियौँ । पिँजडाबाट बाहिर मात्रै निस्किएका थियौँ । त्यस कारण अब हामी पिँजडामुक्त छौँ वा खुला आकाशमा हामी जे पनि गर्न सक्छौँ । हामीले हाम्रा युवालाई सक्षम र दक्ष बनाउनु पर्छ । हाम्रा युवा प्रतिभामा कम छैनन् । हाम्रा पूर्खाहरूको जेनेटिक मेमोरी यस्तो छ कि अहिलेभन्दा हजार वर्षअघि भाष्काराचार्यले पृथ्वीको गोलाइ नापेका थिए, घरमै बसेर । कसरी नापे होलान् ! तौल नापेका थिए, कस्तो तराजु थियो होला ! पृथ्वीको तौल अहिलेभन्दा हजार वर्षअगाडि नाप्ने ! ग्राभिटेसनको थ्योरी हजार वर्षअगाडि पत्ता लगाएका थिए । त्यो कुरा युरोपसम्म पुगेको थिएन । त्यो कुरा हाम्रोमा प्रचार भएको थिएन । पुस्तक लेखिएको थियो, १२१० मा प्रकाशित भएको थियो । त्यो कुरालाई हामीले बाहिर प्रचार गर्न सकेनौँ । अहिले हामी पढ्दै छौँ, ग्राभिटेसनका जनक न्युटन भनेर । न्युटनभन्दा पाँच सय वर्षअगाडि त पुस्तक छापिएको थियो, ग्राभिटेसनको थ्योरीका बारेमा ग्यालिलियो र न्युटनले गर्नुभन्दा अगाडि, हाम्रो भूमिमा । पहिलो सर्जन यहाँका थिए । संस्कृतमा वेद भनेको साइन्स । हाम्रा पूर्वजले साइन्स भन्ने त्यतिबेला आविष्कार गरेर दर्शनका बारेमा, अरू बारेमा निकालेका थिए । साइन्स टेक्नोलोजीले सिर्जना गर्ने हो । साइन्स र टेक्नोलोजी हाम्रा पुर्खाले उहिले सुरु गरिसकेको चिजमा हामी फेरि फर्किएर पुग्दै छौँ । आज अरूले लिड गरिराखेका छन् । हामी अरूले बनाएको मोबाइल चलाउँछौँ, अरूको सफ्टवेयर चलाउँछौँ, अरूका एप्स चलाउँछौँ । अहिले भर्खर हामीले नागरिक एप जस्ता कुरा निकालेर केही केही मामिलामा ग्लोबल्ली फस्ट, चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लगायतका चिजहरू त्यसैमा समेटेर लान सकिने हामीले विकास गरेका छौँ । जो साथीहरू यसमा काम गरिरहनु भएको छ, म धन्यवाद भन्न चाहन्छु । 

अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरू चिज घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दै छौँ । म यो गर्न चाहन्छु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दै छौँ र त्यो छोटो समयभित्र हामी सफल बनाउँछौँ । जसले आजको समयलाई बुझ्दैन उसले प्रगति गर्दैन । समयलाई बुझ्ने भनेको के ? आज २०८१ साल माघ ८ गते मङ्गलबार भयो भनेर समय बुझिएको हुन्छ र ? यसमा बुझ्नका लागि एआई बुझ्नु पर्छ, आइटी बुझ्नु पर्छ । अनि मात्रै समय बुझिन्छ । आइटी बुझिएन भने समय कसरी बुझियो त ? अबको समय आइटीले, साइन्स एन्ड टेक्नोलोजीले लिड गर्छ । अब हामीले हरेक क्षेत्रमा साइन्स एन्ड टेक्नोलोजीको प्रयोगद्वारा परिवर्तन गर्नु पर्छ । आधुनिकीकरण गर्नु पर्छ । देशलाई आधुनिकीकरण कसरी गर्ने, गरिब देशलाई सम्पन्न कसरी बनाउने, गरिबी नहटाई कसरी आधुनिकीकरण हुन्छ ? ह्बाट इज मोर्डनाइजेसन ? गरिबी त हट्नु पर्‍यो नि, खान पाएको छैन, केको आधुनिकीकरण ? मान्छे भोकै छ भने केको मोर्डनाइजेसन हुन्छ ? अनि छोराछोरी कसरी पढाउँछ ? कसरी निकाल्छ आइटी इन्जिनियर ? कम्तीमा आइटीको प्रयोग गर्न सक्ने त हुनु पर्‍यो । त्यो कसरी बनाउँछ त ? त्यस कारण यसका लागि हामी केही गर्ने उद्देश्यका साथ अगाडि बढेका छौँ । अरू धेरै कुरालाई दिगो बनाउनु छ । आइटी क्षेत्रको विकासको जुन अभ्यास र प्रयास सुरु गरेका छौँ । यसलाई दिगो बनाउनुपर्ने छ । हाम्रो यस्तो छलफललाई पनि पिरियडिक ढङ्गले दिगो बनाउनु परेको छ । त्यो हामी गर्छौं । 

(प्रधानमन्त्री ओलीले आइटी उद्यमीसँग प्रधानमन्त्री कार्यक्रममा मङ्गलबार गर्नुभएको सम्बोधनको सम्पादित अंश )

 

Author

प्रधानमन्त्री केपी शर्मा ओली