ओखलढुङ्गा समाचारदाता
ओखलढुङ्गा, माघ ९ गते । ओखलढुङ्गाको लिखु गाउँपालिकाका चौपायमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको छ । गाउँपालिकाको वडा नम्बर ८ र ९ का किसानले पालेका चौपायामा ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको हो ।
छिमेकी जिल्ला रामेछापबाट खरिद गरेर ल्याइएका भैँसी र गोरुलगायत गरी आधा दर्जनभन्दा बढी चौपायामा लम्पीको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।
‘लम्पी स्किन’ सँग मिल्दोजुल्दो रोगको सङ्क्रमण देखिएसँगै महामारीका रूपमा फैलन नदिन किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको गाउँपालिकाको पशुपन्छी विकास शाखाका पशु चिकित्सक डा. रोशन पौडलले बताउनुभयो । प्रभावित क्षेत्रमा पशु प्राविधिक खटाइएको उहाँले बताउनुभयो । आवश्यक रोग पहिचान र प्रकोप नियन्त्रणका लागि अध्ययन गरिने प्रमुख पनि पौडेलले जानकारी दिनुभयो ।
किसानले पालेका पशुमा यस्ता लक्षण देखिए सम्बन्धित निकायमा खबर गर्न र बिरामी पशुलाई छुट्टै राख्न, चरिचरणमा नलैजान तथा आवश्यक सतर्कता अपनाउन पालिकाले आग्रह गरेको छ ।
गत वर्ष जिल्लाका विभिन्न स्थानीय तहमा ‘लम्पी स्किन’ देखा परेको थियो । रोग प्रकोपबाट पशुलाई बचाउन खोप कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।
‘लम्पी स्किन’ गाईभैँसीमा भाइरसका कारण लाग्ने महामारी हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दानापानी कम खाने र दुध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिने पशु चिकित्सकको भनाइ छ । गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाक मुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, ¥याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निने जस्ता लक्षण देखिने गर्छन् ।