काठमाडौं, माघ ८ गते । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाग्लुङ ताराखोला गाउँपालिका–३ घर भई काठमाडौं सामाखुशी बस्ने ३४ वर्षीय तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ घर भई काठमाडौं बल्खु बस्ने ३६ वर्षीय हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ घर भई काठमाडौं बानियाटार बस्ने ३४ वर्षीया जमुना परियार रहेका छन् ।
पक्राउ मध्ये तिलकले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख, हरिले अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितबाट दुई लाख र जमुनाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै तीन जना पीडितबाट २८ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तिलकलाई आइतबार तथा हरि र जमुनालाई सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।