• ८ माघ २०८१, मङ्गलबार

गोरखाको जराङ खोलामा मोटरेबल पुल निर्माण हुने

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ ८ गते । गोरखाको भीमसेन थापा गाउँपालिका – १ र बारपाक सुलिकोट गाउँपालिका – ८ जोड्ने जराङ खोलामा मोटरेबल पुल निर्माण हुने भएको छ ।  

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय गोरखाले दुई पालिका भएर बग्ने जराङ खोला माथि २० मिटर लम्बाई र ८.४० मिटर चौडाइ लामो सिङ्गल स्पाम आरसिसि प्रबिधिको मोटरेबल पुल निर्माण हुने भएको हो ।

पुल निर्माण सँगै भीमसेन थापा गाउँपालिका – १ र बारपाक सुलीकोट गाउँपालिका – ८ नम्बर वडाका स्थानीय बासिन्दालाई मसेल – ताल खोला – जराङबेशी – बारपाक सुलिकोटको ताकुकोट सडक १२ महिना सवारी साधन आवतजावतमा सहज हुने भीमसेन थापा गाउँपालिका – १ का वडा अध्यक्ष विकास बाबु श्रेष्ठले जानकारी दिनुभयो । 

भीमसेन थापा गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाको ८ र ६ नम्बर वडाका बासिन्दालाई मध्य पहाडी लोक मार्ग र गोरखा सदरमुकाम सम्म पुग्न बर्खाको बेला सवारी साधनहरू ठप्प हुनु पर्ने अवस्था पुल निर्माणले अन्त्य हुने विश्वास लिइएको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ । 

पुल निर्माण भएपछि १२ महिना सवारी साधन आवतजावतमा सहज हुनुका साथै दुरी छोटिने भएको बारपाक सुलीकोट गाउँपालिका – ८ का वडा अध्यक्ष शरण गुरुङको भनाई छ ।  

पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुबेदीका अनुसार सो पुल निर्माणका लागि २०८० साल चैत २७ गते एच एम सेट स्क्यार जेभी सँग २ करोड ५९ लाख ३ हजार ६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

पुल निर्माण सम्पन्न भने २०८२ साल असोज २६ गते जराङ खोलाको पुल २३ महिनामा सम्पन्न गर्नु पर्ने सम्झौता उल्लेख भएअनुसार काम धमाधम भइरहेको पूर्वाधार कार्यालय गोरखाका साइड ईन्जिनियरस मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

जराङ खोला पुल निर्माण सम्पन भएपछि बारपाक सुलीकोट गाउँपालिका जराङबेशीका बिद्यार्थीहरुलाई भीमसेन थापा गाउँपालिकाको बिन्द्रबती माध्यमिक विद्यालय मसेलमा अध्यान गर्न आउने सयौ बिद्यार्थीहरुलाई सहज हुने भएको छ ।