• ८ माघ २०८१, मङ्गलबार

सेतोपाटी पुनर्निर्माणमापुरातत्त्वको रोक

blog

बनेपा नगरपालिका–१०, पुलबजारमा रहेको ऐतिहासिक सेतोपाटीमा हाल्न लागिएको फलामे पाली ।तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा, माघ ८ गते । पुरातत्त्व विभागले बनेपा नगरपालिका–१०, पुलबजारमा रहेको सेतोपाटीको मौलिक स्वरूप बिगार्न नहुने भन्दै रोक लगाएको छ । बनेपा नगरपालिका १० नम्बर वडा कार्यालयले ऐतिहासिक सेतोपाटीमा फलामे पाली हाल्ने काम सुरु गरेपछि पुरातत्त्व विभागले उक्त कार्यमा रोक लगाएको हो । वडा कार्यालयले सेतोपाटीको दक्षिण र पूर्वीभागको पेटी र गारोमा फलामको रेलिङ बार लगाई सेड तयार गरी पाटीको मौलिक स्वरूप बिगार्ने काम गरेको थियो । वडा कार्यालयले ऐतिहासिक सेतोपाटीको मौलिक स्वरूप बिगार्दै फलामे पाली हाल्ने काम सुरु गरेपछि स्थानीयले विरोध गर्दै विभागमा उक्त कार्य रोक्नका लागि निवेदन दिएका थिए । 

स्थानीयवासी र अभियान्ताको विरोधपछि विभागले स्थलगत अध्ययनका लागि टोली खटाएको थियो । स्थलगत अध्ययनका लागि आएको टोलीको प्रतिवेदनपछि विभागले माघ ४ गते नगर कार्यपालिका, वडा कार्यालयलाई पत्राचार गर्दै ऐतिहासिक सेतोपाटीमा सञ्चालन गरिएका कार्यालय तथा पाटीको मौलिक स्वरूपलाई नै असर पर्ने गरी थप गर्न लागिएका नयाँ संरचना तत्काल हटाउन निर्देशन दिएको थियो । बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्काले वडा कार्यालयले चालु आवमा उक्त सेतोपाटीमा पुस्तकालय स्थापना, इन्टरनेट सेवा, विद्युत् सेवा जडान गर्नका लागि चार लाख रुपियाँ विनियोजन गरेकोमा केही रकमले पाटीमा विश्रामस्थल बनाउने उद्देश्यले पाली बनाउने काम सुरु गरेपछि विरोध भएको बताउनुभयो । 

उहाँले स्थानीयको विरोध र पुरातत्त्व विभागको निर्देशनपछि पाली बनाउने काम रोकिएको बताउनुभयो । सेतोपाटीमा पाटीको मर्म र भावनाविपरीत माथिल्लो तलामा नेपाल रेडक्रस सोसाइटी जनगाल उपशाखा, उग्रतारा ज्येष्ठ नागरिक समितिका साथै नगरप्रमुख स्वास्थ्य प्रवर्धन कार्यक्रम, नगर स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ । विभागले ऐतिहासिक सेतोपाटीमा सञ्चालन गरिएका कार्यालय हटाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पाँचौँ संशोधनसहित) को परिधिभित्र रही सम्पदा संरक्षण गर्ने कार्यमा सहयोग गर्न नगरपालिका, वडा कार्यालयलाई अनुरोध गरेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले ऐतिहासिक सेतोपाटीमा क्षति पुगेपछि विभागले उक्त पाटीको पुनर्निर्माण गरेको थियो । बनेपाका बादे परिवारले पूर्वबाट आउने पैदल यात्रुलाई थकाइ मार्ने, घामपानीमा ओत लाग्ने ठाउँका रूपमा सेतोपाटी निर्माण गरेको किंवदन्ती रहेको छ । विभागले सेतोपाटी पुनर्निर्माणका लागि ५७ लाख ७२ हजार रुपियाँ खर्च गरेको थियो ।